नेपाल समाचारपत्र, हेटौंडा
मकवानपुरमा शान्ति सुव्यवस्थाको अवस्था कमजोर देखिएको छ। करिब ३ महिना अवधिमा जिल्लामा बलात्कारजन्य ७ घटना भएपछि यसले स्थानीयमा त्रास देखिएको छ। यिनै घटनाअनुसार स्थानीय आफ्ना छोरीलाई एक्लै कुनै ठाउँमा पठाउनै नसक्ने अवस्थामा पुगेका छन्।
असोज २३ गते मकवानपुर भीमफेदी गाउँपालिकाकी १३ वर्षीया किशोरीलाई हेटौंडा–१ पीपलबोटस्थित गेस्ट हाउसमा लगेर बलात्कार गरेको घटना सार्वजनिक भएको छ।
हेटौंडा–१ का कमलराज गिरीले आफूलाई ललाईफकाई गेस्टहाउसमा लगेर बलात्कार गरेको भन्दै किशोरीले बुधबार जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी थिइन्। प्रहरीले उजुरीकै राति पीडक आरोपित गिरीलाई पक्राउ गरेको थियो।
प्रहरीले पीडित र पीडकको स्वास्थ्य परीक्षणका लागि हेटौंडा अस्पताल पठाएको छ। परीक्षणको रिपोर्ट आइतबारसम्म आइपुग्ने भएकाले बलात्कार हो÷होइन भन्ने कुरा त्यही रिपोर्टबाट पुष्टि हुने प्रहरी भनाइ छ भने गिरीलाई हिरासतमा राखिएको छ।
चालू आर्थिक वर्ष २०७५÷०७६ को हालसम्मको जिल्ला प्रहरी कार्यालयको तथ्यांक हेर्दा हालसम्म बलात्कारका ७ घटना भएका छन्। जसमा २ वटा उद्योग र ५ वटा बलात्कार रहेको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिनुभयो।
बागमती गाउँपालिका–८ मा भर्खर किशोरावस्था प्रवेश गरेकाले नाबालिकालाई बलात्कार गरेको घटना कार्यालयमा दर्ता भएको छ, जसमा १३ वर्षका पीडक र पीडित ४ वर्षकी रहेको प्रहरी तथ्यांकमा छ। ‘चक्लेट दिन्छु’ भन्दै नाबालिकालाई फकाई उनकै घरमा जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ। पीडक सुधारगृहमा छन्।
७ वटा मुद्दामध्ये अधिकांशमा पीडक र पीडित १० वर्षदेखि २० वर्ष नकटेको प्रनाउ सिंहले जनाउनुभयो। यस्ता घटना बढ्दै जानुमा जनचेतना कमी भएको प्रहरी नायब उपरीक्षक सिंह बताउनुहुन्छ। नाबालकमाथि यस्ता क्रियाकलाप गर्दा उनीहरू बोल्न नसक्ने र आफू सुरक्षित हुन्छु भन्ने सोचाइ भएको उहाँले बताउनुभयो। बलात्कारका घटनाहरू दैनिक हुने गरेका सार्वजनिक भइरहेका छन्। हिजोआज प्रहरीमा जाने अधिकांश मुद्दा बलात्कारका बन्ने गरेको तथ्यांकले देखाउँछ। बालिकालाई विभिन्न लोभ देखाएर करणी गरिँदै आएको देखिन्छ।
कहिले टिभी हेर्न दिन्छु भन्ने र कहिले मिठाइ÷चकलेट दिएर करणी गरेको भन्ने खुलेको छ। गलत मनसाय भएको व्यक्तिले उनीहरूलाई सजिलै फसाउन सक्ने, केही कुरामा लोभ देखाउने र आफ्नो स्वार्थपूर्ति गर्ने प्रवृत्तिले बालिकामाथि अपराध हुने गरेको प्रहरी भनाइ छ।











प्रतिक्रिया