हेटौंडा, (नेस)
नेता चक्रप्रसाद बास्तोलाको निधनको शोकमा नेपाली कांग्रेस मकवानपुरले पार्टी कार्यालयमा शोकसभा गरेको छ।
नेपाली कांग्रेसका नेता तथा २०४८ सालमा भारतका लागि नेपालका राजदूत, २०५८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्व सरकारमा परराष्ट्रमन्त्रीसमेत रहनुभएका बास्तोलाको निधनमा शोक व्यक्त गर्दै शोकसभा आयोजना गरिएको हो।
पार्टी कार्यालयमा आयोजित शोकसभामा कांग्रेस मकवानपुर सभापति एवं ३ नम्बर प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ, कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्याय, जिल्ला सचिवहरू, नेता, कार्यकर्ता, विभिन्न भ्रातृ संघका सभापति तथा पदाधिकारीलगायतको उपस्थिति थियो।
कांग्रेस नेता बास्तोलाको निधनमा शोक व्यक्त गर्दै तरुण दल मकवानपुरले चियापान कार्यक्रम स्थगित गरेको छ। नेपाली कांग्रेस मकवानपुरले आयोजना गर्ने तय भएका अन्य कार्यक्रम पनि स्थगित गरिएको नेपाली कांग्रेस मकवानपुरले जनाएको छ। तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकले बास्तोलाको निधनले ठूलो क्षति भएको बताउनुभयो।











प्रतिक्रिया