यमलाल भुसाल, बुटवल
नक्कली सुन काण्डमा ५ लाख ४० हजार रुपियाँसहित थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। यस अगाडि सोही नक्कली सुन काण्डमा प्रहरीले १२ लाख रुपियाँसहित दुई जनालाई पक्राउ गरेको थियो।
यही असोज २२ गते साँझ बुटवल उपमहानगरपालिका–२ को फूलबारी गेट नजिकै रुकुम घर भई दाङ तुल्सिपुर–५ बस्ने नरहरि घर्तीलाई नक्कली सुन बिक्री गरी २१ लाख २५ हजार नगद रुपियाँ ठगी गरेको अभियोगमा प्रहरीले रूपन्देहीको देवदह नगरपालिका–६ का सन्तोष भन्ने सुरेन्द्र दर्जी र कपिलवस्तुको कपिलवस्तु नगरपालिका–३ का शंकर भन्ने गवेश्वर बेलबासेलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट प्रहरीले ठगी भएको ५ लाख ४० हजार रुपियाँसमेत बरामद गरेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले बताउनुभयो।
यसअगाडि सोही अपराधमा प्रहरीले फोक्सिङ गाउँपालिका गुल्मी घर भई हाल रूपन्देहीको देवदह–१० चरंगेमा बस्ने राजु परियार र सनही गाउँपालिका–६ पढहरी नवलपरासीका समिर भन्ने अब्दुल गनीलाई पक्राउ गरेको थियो। त्यस बेला प्रहरी १२ लाख रुपियाँ बरामद गरेको थियो। दुईपटक गरी पक्राउ परेका ४ जनाबाट प्रहरी १७ लाख ४० हजार रुपियाँ बरामद गर्न सफल भएको छ।
सामाजिक सञ्जाल फेसबुकमा भएको चिनजानका आधारमा राज भन्ने राजु परियारले आफूसँग सुनको ढिक्का भएको र पैसा लिएर बुटवल आउन आग्रह गरेपछि त्रिवेणी गाउँपालिका–६ का हाल तुल्सीपुर उप–महानगरपालिका–५ बस्ने २३ वर्षीय नरहरि घर्ती बुटवल आएका थिए। साँझको समयमा सुनजस्तो देखिने पहेंलो ढिक्का हातमा थमाएर २१ लाख २५ हजार रुपियाँ ठगी गरेको प्रहरीसामु पीडितले बयान दिएका छन्। यस अपराधमा अन्य व्यक्तिसमेत संलग्न भएको देखिएको र उनीहरूको पनि खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया