युगअनुसार अघि बढ्न नसक्दा पछौटेपन र गरिबी हाम्रो नियति बन्यो ः रेग्मी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
मन्त्रिपपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सांस्कृतिकरूपमा सम्मृद्ध, प्राकृतिकरूपमा भरिपूर्ण, वैचारिकरूपमा इमानदार र प्रतिबद्ध रहे पनि हामी नेपालीले युग अनुकूल सन्तोषजनक विकास र प्रगति हासिल गर्न नसकेका कारण पछौटेपन र गरिबी हाम्रो नियति बनेको बताउनुभएको छ।

‘विभिन्न राजनीतिक घटनाक्रमका आरोह–अवरोह पार गर्दे संविधानसभाबाट संविधान निर्माणका साथ आज दुई तिहाइ बहुमतको सरकार क्रियाशील रहेको अवस्थामा पुगिएको छ र समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य अघि सारिएको सुखद पक्ष हामीसँग छ’, रेग्मीले भन्नुभयो– ‘आज असल नियतका साथ देशको आवश्यकताअनुरूप स्रोत साधनको उचित व्यवस्थापन र त्यसको परिणाममुखी प्राथमिकीकरण गर्दे अघि वढ्ने राजनीतिक इच्छाशक्ति आजको सरकारप्रतिको तीव्र जनअपेक्षा रहेको छ।’

दशैंको शुभकामना दिँदै मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले यो ऐतिहासिक कार्यभारबाट प्रचण्ड बहुमतका साथ जन अनुमोदित वर्तमान सरकारलाई कुनै किसिमबाट अलमलिने छुट पनि नभएको र अलमलिन पर्ने परिस्थिति पनि नभएको बताउनुभएको छ। ‘वस्तुतः इतिहासका विभिन्न घुम्तीहरूमा जे–जस्तो बित्यो बितिसक्यो। अहिले नगरे कहिले गर्ने रु अब पनि नभए कहिले हुने रु’, उहाँले भन्नुभएको छ– ‘सो आम जनसमुदायको अन्तर्मनको प्रतिध्वनि हो।’

राजनीतिक दलहरूले तोकिएको समयभन्दा दोब्बर समयमा पनि संविधानसभाबाट संविधान जारी गर्न नसकेको र दलीय नेतृत्वमा सरकार सञ्चालन गर्नसमेत असफल भएको अवस्थामा मुलुकमा संविधान दोस्रो संविधानसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नुभएका रेग्मीले सबै प्रकारको निराशाबाट आशा जगाउन अभावबाट समृद्धिको गन्तव्य कोर्न वर्तमान सरकार सुशासन दिँदै अघि बढोस् र सफलता प्राप्त गरोस् भन्ने जन चाहना र कामना पनि बताउनुभएको छ।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले विविध विशेषतायुक्त नेपाली समाजमा विशेष चाडका रूपमा बहुसंख्यक नेपालीले मनाउँदै आएको महान् पर्व विजयादशमीको सुखद अवसरमा समस्त नेपालीका बीच सद्भाव र एकता कायम गर्दै समाजिक, आर्थिक र राजनीतिक रूपान्तरणमा दत्तचित्त भई लाग्न नवदुर्गा भवानीबाट सबैलाई प्रेरणा प्राप्त होस् भन्ने कामना पनि गर्नुभएको छ।