काठमाडौं, (नेस)
नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ। मस्तिष्कघातका कारण लामो समय अर्धचेत अवस्थामा रहनुभएका बास्तोलाको पुनः मस्तिष्कघात भई शनिबार राति निधन भएको थियो।
बास्तोलाका निजी सचिव राधकृष्ण काफ्लेले जानकारी दिएअनुसार शनिबार राति साढे १० बजे बास्तोलालाई मृत घोषणा गरिएको हो। २०६९ पुस १४ गते विराटनगरमा आयोजित आफ्नो बन्धु भेलामा सम्बोधन गर्दागर्दै लडेका बस्तोलालाई मस्तिष्कघात भएको थियो। मस्तिष्कघातपछि उहाँलाई भारतको मेदान्त अस्पतालमा लामो समय उपचार गरिएको थियो। भारतमा पनि निको नभएपछि बास्तोलालाई स्वदेशमै उपचार भइरहेको थियो।
बास्तोलाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आइतबार दिउँसो १ बजेसम्म उहाँको निवास खुमलटारमै राखिएको र त्यसपछि साढे ४ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो। उहाँलाई अन्तिम श्रद्धाञ्जली दिन कांग्रेस नेता तथा कार्यकर्ताको भीड लागेको थियो।
शनिबार दिउँसो अघिपछिको भन्दा असामान्य अवस्था सिर्जना भएपछि बास्तोलालाई बाँसवारीस्थित न्युरो अस्पताल लगिएको थियो। अस्पताले पुनः मस्तिष्कघात भएकाले उपचार सम्भव नहुने भन्दै घरमै फिर्ता पठाएको थियो। राति साढे १० बजे चिकित्सकले उहाँलाई मृत घेषणा गरेको निजी सचिव काफ्लेले जानकारी दिनुभएको छ।
७४ वर्षीय बास्तोलाको बास्तोलाको एक श्रीमती र दुई छोरी छन्। उनको मस्तिष्कघात भएपछि श्रीमती कुसुम बास्तोलाले हेरचाह गरिरहनुभएको थियो। बास्तोला पूर्वपरराष्ट्रमन्त्री तथा भारतका लागि पूर्वनेपाली राजदूत पनि हुन्। बास्तोलालाई जननायक बीपी कोइराला स्मृति ट्रसले यो वर्षको सेनानी सम्मान पनि प्रदान गरेको थियो।











प्रतिक्रिया