किरन धामी, दार्चुला
प्रहरीले दार्चुलाको स्थानीय सडकहरूमा सञ्चालनमा रहेका जिपहरूको पछाडिका सिटहरू हटाइरहेको छ। यातयात क्षेत्रको सिन्डिकेट हटेसँगै प्रहरीले यातायात कार्यालयबाट सिट पास नभएका जिपका सिटहरू हटाउन थालेको हो।
यातायात कार्यालयबाट ५ सिटको मात्रै पास बनाएका सवारी धनीहरूले जिपको पछाडितर्फको समान बोक्ने ठाउँमा सिट जोडेर क्षमताभन्दा बढी यात्रु बोक्न थालेपछि प्रहरीले बिनापासका सबै सिट हटाइरहेको छ। दार्चुला जिल्ला सदरमुकामदेखि दुहुँ गाउँपालिकासम्म सञ्चालनमा रहेका ६ वटा जिपको पछाडिका बिनापासका सबै सिट हटाइसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
दार्चुला तिंकर सडक खण्डअन्तर्गत सञ्चालनमा रहेका जिपहरूले साँघुरोबाटोमा सिट क्षमताभन्दा बढी यात्रु बोक्न थालेपछि बिनापासका सिटहरू हटाएको अस्थायी ट्राफिक पोस्ट दार्चुलाले जनाएको छ। सवारीधनीहरूले यातायात कार्यालयबाट ५ वटा सिटको मात्रै पास बनाउने तथा समान बोक्ने ठाउँमा कोचेर यात्रु बोक्न थालेपछि प्रहरीले दुर्घटना न्यूनीकरण गर्न बिनापासका सिट हटाइरहेको अस्थायी ट्राफिक पोस्ट दार्चुलाले जनाएको छ। दार्चुलाका स्थानीय सडकहरूमा सञ्चालनमा रहेका जिपहरूले समान बोक्ने पछाडितर्फको भागमा, छतमा यात्रुहरूलाई बोक्ने गरेका छन्।
स्थानीय सडकहरू ग्रेड नमिलेका साँघुरा तथा कच्ची भएका कारण जुनसुकै बेला पनि दुर्घटना हुन सक्ने समस्यालाई न्यूनीकरण गर्न जिपका छत तथा बिनापासका सिटहरू हटाउने कार्य जारी रहेको ट्रफिक प्रहरीले जनाएको छ। दार्चुला तिंकर सडकमा सञ्चालनमा रहेको ६ वटा जिपको बिनापासका सिट हटाएको तथा खलंगा दल्लेक सडक खण्डमा सञ्चालनमा रहेका जिपका बिनापासका सिटसमेत हटाइने जनाइएको छ।
बिनापासका सिटहरूमा यात्रु गर्दा कारण बस जिप दुर्घटना भएर यात्रुको मृत्यु भएपछि मृतकले क्षतिपूर्ति नपाउने भन्दै यात्रुलाई समेत बिनापासका सिटमा बसेर यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ। यातायात क्षेत्रको सुधारका लागि बिनापासका सिट हटाउनुका साथै सवारी चालकहरूलाई जनचेतनामूलक सन्देशहरू प्रवाह गरिरहेको प्रहरीले जनाएको छ।











प्रतिक्रिया