सुत्केरीको मृत्यु

0
Shares

संखुवासभा, (नेस)
संखुवासभाको जिल्ला अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ। खाँदबारी नगरपालिका–३ की २० वर्षीया नन्दुमाया गुरुङलाई सुत्केरी व्यथाले च्यापे पनि समयमै अस्पताल नल्याउँदा मृत्यु भएको हो।

उनको पाठेघरबाट रगत बग्न थालेको झन्डै ६ घन्टापछि आफन्तले अचेत अवस्थामा खाँदबारी अस्पताल ल्याएका चिकित्सकले बताएका छन्। उनको अन्तिम अवस्था भएको र अस्पताल भर्ना गरी तत्कालै एक प्रिन्ट रगतलगायत औषधि उपचार भई रहँदा आज बिहान १ बजे मृत्यु भएको अस्पतालका डा। युवराज बस्नेतले बताउनुभयो।

उहाँले अचेत अवस्थामा रहेकी बिरामीलाई तत्काल सुविधा सम्पन्न अस्पतालमा लैजान सिफारिस गरे पनि यातायातको कठिनाइका कारण लैजान नसकेपछि जिल्ला अस्पतालमा बच्चालाई भन्दा पनि आमालाई बचाउन शल्यक्रियाबाट सुत्केरी गराउने तयारी गर्दा गर्दै मृत्यु भयो। बिरामीको अवस्था नाजुक भए पनि बचाउन निकै प्रयास गर्यो तर नसकिएको बताउनुभयो।

उहाँले पाठेघरको मुखमा बच्चाभन्दा अघि साल रहेको र ३४ हप्ताको बच्चा रहेको बताउनुभयो। उहाँले सुत्केरीलाई समयमै अस्पताल ल्याएको भए आमालाई भने बचाउन सकिने थियो। पटक–पटक जिल्ला अस्पतालमा गर्भ जाँच गराउन आउँदा सतर्क हुन सुझाब दिएको भए पनि बेवास्ताका गरेको डा। बस्नेतले बताउनुभयो।