नेपाल समाचारपत्र, लमजुङ ।
लमजुङमा यशोब्रह्मा शाहको अर्ध कदको सालिक निर्माण गरिएको छ । लमजुङको ऐतिहासिक दरबार रहेको स्थान गाउँशहरमा सो सालिकको निर्माण गरिएको हो । प्रधानसेनापति पूर्णचन्द्र थापाले कालिका मन्दिरमा पूजाआजा गर्दै आइतबार उक्त सालिकको अनावरण गर्नुभयो ।
बेसीसहर नगरपालिका– ३ गाउँशहर स्थित ऐतिहासिक लमजुङ दरबार परिसरमा शाहवंशका पहिलो राजा यशोब्रह्मा शाहको अर्ध कदको सालिक निर्माण गरिएको हो ।
नेपाली सेनाको लमजुङको उदिपुर स्थित श्रीजंग गणले शाहको सालिक निर्माण गरेको श्रीजंग गणका गणपति शेखर जबराले बताउनुभयो । उहाँका अनुसार मुर्तीको बाहिरी भागमा पितल जडित छ ।

सो सालिक निर्माणको सँगै श्रीजंग गणले कालिका मन्दिरमा पुरानो निशानको फर्दा फर्ने कार्य, मन्दिर परिसरमा अर्थिङको, नयाँ मौलोको व्यवस्था, निशान राख्ने दराजको व्यवस्था र मन्दिरमा बगैँचा निमार्ण गरेको श्रीजंग गणका गणपति जबराले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँसहर क्षेत्रको ऐतिहासिक, पुरातात्विक, धार्मिक र पर्यटकीय महत्वलाई प्रर्वद्धन गराउन स्थानीय सरोकारवालाहरुको चाहना अनुरुप सो स्थानमा सालिक निर्माण गरिएको हो । ११ लाख रुपैयाँको लागतमा ती संरचनाहरु निर्माण गरिएको राणाको भनाई छ ।
उक्त मुर्ती निर्माण गर्ने माधव पौडेलले ललितकला क्याम्पसवाट मुर्तिकलामा स्नातकोत्तर (व्याजलर) गर्ने पहिलो सैनिक हुनुभएको जानकारीका आएको छ ।
कार्यक्रमकै अवसरमा प्रधानसेनापति थापाले मूर्तिकार पौडेललाई खदा र सम्मानपत्र प्रदान गर्दै सम्मान गरे ।
सोही अवसरमा बेसीसहर नगरपालिकाका तर्फबाट पनि सम्मान तथा वधाई ज्ञापन गरियो । त्यसैगरी, लमजुङ उद्योग बाणिज्य संघको अगुवाईमा जिल्लास्थित विभिन्न संघ संस्थाले थापालाई संयुक्त रुपमा तयार पारेको वधाईपत्र समेत हस्तान्तरण गरिएको बाणिज्य संघका अध्यक्ष राजेश थापाले बताउनु भयो ।
गाउँसहरस्थित दलित समुदायमा निर्मित शिल्पी संग्रहालय निर्माण तथा होमस्टे पर्यटन समितिले पनि उनलाई सम्मानपत्र प्रदान गरेको समितिका अध्यक्ष अजय मजाकोटीले जानकारी दिनुभयो ।
शाहवंशीय पहिलो राजा यशोब्रह्म शाहले विसंं १५५० मा लमजुङ दरबारमा रहेर राजगद्दी सम्हालेका थिए । सो दरबारसँगै लमजुङ कालिकाको मन्दिर समेत रहेछ जसलाई शाहवंशका कुलदेवता मानिन्छ । सो मन्दिरमा देनिक नियमित पूजा हुनुका साथै बर्षमा दुईपटक दशैँको समयमा नौरथाभर बली सहित पूजा गर्ने प्रचलन छ इतिहासविद मस्र्याङ्दी क्याम्पसका पूर्वसहप्राध्यापक रमाराज खनियाले बताउनु भयो । उहाँका अनुसार त्यसको खर्च गुठी संस्थानले बेहोर्ने गरेको छ । लमजुङ दरबारको कालिका मन्दिर रहेको स्थानमा चैतेदसैंको अवसरमा पूजापाठसँगै २ दिनसम्म ठूलो मेला लाग्ने गर्दछ ।
उक्त मन्दिरमा भाकल गर्नाले मनले चिताएको पुग्छ भन्ने प्रचलन छ । त्यस्तो आकांक्षा पुरा हुने भक्तजनले परेवा, कुखुरा, हाँस बोका आदिका साथै पञ्चवली समेत दिने प्रचलन रहेको उक्त मन्दिरका मूल पुजारी माधव बरालले बताए । उनका अनुसार त्यसरी गरिने विशेष पूजा र मेला हेर्न तथा लमजुङ कालिका मन्दिरमा पूजापाठ गर्न भक्तजनको घुइँचो लाग्छ गर्छ ।
सेना प्रमुख थापाले कालिका भगवतीको दर्शन गर्नुका साथै विधिवत् रुपमा पुजाअर्चना गरेका मन्दिरका मूलपुरोहित माधव बरालले बताए । उहाँका अनुसार सेना प्रमुख भएपछि पहिलो पटक कार्यक्रममा गाउँ आएका थापाले नातेदार, आफन्त, आफु सँगै पढेका साथी संगी र सँगै हुर्किएका दौंतरीहरु सँग पनि भेट गरे ।











प्रतिक्रिया