काठमाडौं ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार, गृह मन्त्रालय मन्त्रीस्तरको असोज २८ गतेको निर्णयले प्रहरी बरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षकमा पदोन्नति हुनुभएका ११ जना वरिष्ठ प्रहरी अधिकृतहरुलाई आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरुमा बिनोद शर्मा घिमिरे, बिकाश श्रेष्ठ, ठाकुरप्रसाद ज्ञावाली, पूर्णचन्द्र जोशी, तारणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की, हरिभक्त प्रजापती र सुर्यप्रसाद उपाध्याय हुनुहुन्छ ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले पदोन्नति भएका अधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पछिको योगदान अझै बढी हुने भएकोले नेतृत्व, निर्णय क्षमता, सांगठनिक दृष्टिकोणप्रति दृढ अडानका साथ काम गर्दै संगठनले गरेको अपेक्षा पुरा गर्न एक कदम अगाडि बढ्दै संगठनको खम्बा बनेर काम गर्न निर्देशन दिनुभयो ।

इमान्दार, सक्षम र उच्च मनोबलयुक्त प्रहरी कर्मचारीबाट नागरिकको सुरक्षाको कार्यभार प्रभावकारी बन्न सक्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले दसैं तिहार जस्ता चाडपर्वमा अवाञ्छित गतिविधि नियन्त्रण गर्नका लागि त्रुटी नआउने गरी काम गर्न निर्देशन दिनुभयो ।

आफ्नो क्षमता प्रदर्शन गर्दै आफ्नै खुट्टामा उभिनेका लागि संगठन सदैव साथमा रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले संगठनको नीति विपरित काम गर्ने कर्मचारी तत्काल सजायको भागिदार हुने बताउनुभयो । नेपाल प्रहरीले लागू गर्न लागेको सामुदाय साझेदार प्रहरी अवधारणाले प्रहरी कार्यमा थप गतिशीलता ल्याउने विश्वास व्यक्त गर्दै उहाँले यसलाई आत्मसात गरी अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले अपराध नियन्त्रण, अपराधको अनुसन्धान, प्रकोपको व्यवस्थापन तथा नागरिकको आधारभूत हक अधिकारको सम्मान, राष्ट्र र नागरिकको सुरक्षा तथा सेवा प्रवाह गर्ने कार्यमा जिम्मेवारी र जवाफदेहिता बढ्नुको साथै नयां ऊर्जा प्राप्त भएकोले सोही अनुरुप जिम्मेवारी बहन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।



















प्रतिक्रिया