सामुदायिक विद्यालयले लेखा परीक्षण गरेनन्, लेखा परीक्षणका लागि लेखापरीक्षक खटाइए

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
लामो समयदेखि बैतडीका सामुदायिक विद्यालयहरुको लेखापरीक्षण गर्नका लागि १७ जना लेखापरीक्षक खटाइएको छ । लामो समयदेखि सामुदायिक विद्यालयहरुले लेखापरीक्षण नगरेकाले लेखापरीक्षक नियुक्त गरेर खटाइएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्र प्रसाद अवस्थीले जानकारी दिए ।

आर्थिक बर्ष २०७३/७४ सम्मको लेखापरीक्षण प्रतिवेदन पेश गर्न उनीहरुलाई म्याण्डेड दिइएको छ उनले भने“स्थानीय तहमा सामुदायिक विद्यालय हस्तान्तरण गरेपछिको लेखापरीक्षण प्रतिवेदन स्थानीय तहमै बुझाउनुपर्ने भएकाले त्यो भन्दा अघिको लेखापरीक्षण प्रतिवेदन शिक्षा विकास तथा समन्वय इकाइमा बुझाउनुपर्छ ।


जिल्लामा रहेका ५३९ सामुदायिक विद्यालय मध्ये अधिकांश सामुदायिक विद्यालयहरु लेखापरीक्षण गरेका छैनन् । प्रत्येक आर्थिक बर्षमा लेखापरीक्षण गर्नुपर्ने भएपनि विद्यालयहरुले समयमा लेखापरीक्षण नगराउँदा विभिन्न खालका समस्याहरु देखिने गरेका छन् ।

विद्यालयको हिसाबकिताब चुस्तदुरुस्त राख्न अपनाइने लेखा परीक्षण धेरै जसो विद्यालयले नगरेको पाइएको हो । विद्यालयले हरेक आर्थिक बर्षको अन्त्यमा लेखापरीक्षण प्रतिवेदन बनाउनुपर्ने कुरा शिक्षा ऐनमै उल्लेख छ ।

सरकारको कमजोरीका कारण लामो समयसम्म पनि लेखा परिक्षण हुन नसकेको चनैराज माध्यमिक विद्यालय श्रीकोटका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम भट्टको भनाई रहेको छ । विद्यालयमा दरबन्दी अनुसारको शिक्षक नहुँदा यस्तो समस्या आएको हो उनले भने“लेखापालले नै शिक्षण गर्नुपर्दा समस्या बढेको हो ।”

विद्यालयको हिसाबकिताब चुस्त दुरुस्त नहुँदा पठनपाठनमा समेत अवरोध आउने गरेको छ ।