कृष्ण आचार्य,चितवन ।
चाडपर्वको समयमा यात्रुलाई अप्ठेरोमा पारेर बढी भाडा असुल गर्ने सवारी साधनलाई कारवाही गरिएको छ । सार्वजनिक सवारीसाधनले यात्रुबाट चर्को भाडा असुल्ने गरेको गुनासो आएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले बढी भाडा लिने सवारीसाधनलाई कारबाही गरी भाडा फिर्ता गराएको हो । ट्राफिकले सानाठूला सवारीसाधनलाई कारबाही गरी आइतवार मात्रै १७ हजार रुपैंया फिर्ता गराएको छ । चेकजाँचका क्रममा यात्रुबाट पचास रुपैंया देखि १ सय ५० रुपैंया सम्म बढी भाडा लिएको पाइएको छ ।

“सर्वसाधारणको गुनासो आउन थालेपछि हामीले मुख्य राजमार्गका राजमार्गका विभिन्न भागमा छड्के जाँच गरेर सार्वजनिक सवारीसाधनले लिने गरेको बढी भाडा फिर्ता गराउने गरेका छौँ” जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख बेद प्रसाद गौतमले भने– प्रत्येक सवारीसाधनमा नयाँ भाडा दर देखिने ठाउँमा टाँस्न लगाएका छौँ र यात्रुलाई पनि नयाँ भाडा दरका बारेमा जानकारी गराएका छौँ ।” ट्राफिक प्रहरीले घटस्थापनायता लगातार चेकजाँचलाई कडाई गरेको जनाएको छ । यो समयमा स्थानीय रुटमा चल्ने, चितवनबाट टिकट काटेर अन्य जिल्ला जाने र चितवन हुँदै अन्य जिल्लातर्फ जाने सवारीसाधनको जाँच गरी बढी भाडा फिर्ता र कारबाही गरिएको गौतमले बताए ।
सवारीधनीले राजधानी बाहिरबाट फर्कदाँ रित्तो फर्किनु पर्ने बताउँदै बढी भाडा दिए लैजाने नभए सवारीसाधनमा नचढाउने गरेको गुनासो पनि यात्रुको रहेको छ । “दशैको सयमा हो कमाई हुने”, एक चालकले भने, “सरकारले तोकेको भाडादरमा यात्रु बोक्दा उल्टै घाटा हुन्छ ।”
रासस











प्रतिक्रिया