धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा दुईसय ३७ जनाले स्वास्थ्य चेकजाँच गराएका छन् । वडा नम्बर १२ को जनकल्याण माध्यमिक विद्यालय सानाखोलामा शनिबार बसेको शिविरबाट एकसय ६० महिला र ७७ जना पुरुषले स्वास्थ्य चेकजाँच गराएका हुन् । चौरजहारी नगरपालिकाको आयोजना र मानव विकास तथा सामुदायिक सेवा अस्पत्तालको प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको हो । यहाँको वडा नम्बर १०, ११, १२, र १३ का बिरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य सेवा दिईएको नगरपालिकाले बताएको छ ।
शिविरमा छाला, नाक, कान, दाँत, ग्याँस्ट्रिक, रुघाखोकी, पाठेघर खस्ने, तल्लो पेट दुख्ने समस्या भएका बिरामीको स्वास्थ्य चेकजाँच गरिएको बताईएको छ । स्त्रीरोग विशेषज्ञ डाक्टर अजित जर्ज कुरुभिल्लाको टोलीले शिविरमा आएका बिरामीहरुको स्वास्थ्य चेकजाँच गरेको हो । स्वास्थ्य चेकजाँच संगै केही बिरामीलाई भने निःशुल्क औषधि समेत दिईएको छ । घर आँगनमै निःशुल्क स्वास्थ्य चेकजाँच, उपचार र परामर्श सहितको सेवा लिन पाउँदा यसक्षेत्रका बिरामीहरु खुशी भएका छन् । स्वास्थ्य चौकी नभएका विभिन्न वडाका बिरामीलाई घरदैलोमै पुगेर स्वास्थ्य सेवा दिने नगरपालिकाको नीति अनुरुप नै शिविरको आयोजन गरिएको नगरप्रमुख बिशाल शर्माले बताउनुभयो । उहाँका अनुसार चौरजहारी नगरपालिकाले स्वास्थ्य चौकीको पहुँच नभएको वडाका बिरामीलाई विशेषज्ञ डाक्टर सहितको उपस्थितिमा निःशुल्क स्वास्थ्य सेवा दिंदै आएको छ ।
यसअघि वडा नम्बर चारको मनकोटमा पनि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको जानकारी दिईएको छ । दशैं तिहार सकिए लगत्तै नगरपालिकाका बाँकी वडामा समेत पुनः निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिने शर्माको भनाई छ । हाल चौरजहारी नगरापालिकामा तीन स्वास्थ्यचौकी र एक प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन् ।











प्रतिक्रिया