युएईबाट दशैँमा घर आउने बाचा गरेका यूवाको शव आउँदा गाउँ नै शोकमा

0
Shares

नेपाल समाचारपत्र, पर्वत ।
रोजगारीका लागि युएई पुगेका यहाँका एक युवाको विस्तारामै मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका वडा नं. ७ गोदामका २९ वर्षिय प्रेमबहादुर बस्यालको ज्यान गएको हो ।

तीजको दिन घरमा टेलिफोन गरेर आमाबाबुसँग दुःख सुख साटासाट गरेका बस्याल दशँै मनाउन घर आउने योजना बनाएको भएपनि अकस्मात मृत्युको खबर आएको हो । पैसा कमाएर छोरो घर आउने दिन कुरिरहेका आमाबाबु एक्कासी मृत शव आएपछि अचेत बनेका छन ।

चौध महिना अघि युएई पुगेका बस्यालको शव सोमवार नेपाल आईपुगेको छ भने मंगलवार विहान कुश्मा नगरपालिका वडा नं. ५ स्थित कालीगण्डकी किनारमा रहेको गोपाङघाटमा दाहसंस्कार गरिएको छ । बस्यालको उनकै साईला बाबु सोमबहादुर नेपालीले काजकिरीया गर्ने भएका छन् । मृतक बस्यालका तीन वर्षिय एक छोरा र श्रीमती तथा बृद्ध आमाबाबु रहेका छन् । प्रसस्त धन कमाउने आशले बिदेशिएको परिवारको एकमात्र छोराको बिदेशमै मृत्यु भएपछि श्रीमती र आमाबाबु भावविह्ल बनेको स्थानीय शिवलाल बस्यालले जानकारी दिए । उनका अनुसार श्रीमती अझै अचेत अवस्थामा रहेकी छिन् ।

महिलाहरुको महान पर्व हरितालीका तीजको दिन गएको भदौ २८ गते राती खाना खाएर सुतेका बस्यालको सुतेकै ठाउँमा मृत्यु भएको हो । मृत्यु भएको १८ दिनपछि शव नेपाल आइपुगेको हो । युएईको एक अस्पतालमा सहयोगीको रुपमा कार्यरत बस्यालको हृदयघातका कारण मृत्यु भएको जनाइएको छ ।

उनको सोहि अस्पतालमा पोष्टमार्टम गरेर स्वदेश ल्याईएको थियो । गाउँमा सवैसँग मिलनसार, गरिब परिवारको युवा विदेशमा ज्यान गुमाएर बाकसमा फर्किएपछि अहिले सिंगो गाउँनै शोकमग्न बनेको छ । उनको मृत्यु के कारणले हो भन्ने बारेमा अझै बिस्तृत जानकारी तथा क्षतिपुर्ति र राहातका बारेमा जानकारी आइनसकेको छिमेकी शिवलाल बस्यालले जानकारी दिए ।

युएई नै पुगेका पर्वतको फलेवास नगरपालिका वडा नंं. ३ शंकरपोखरीका २८ वर्षिय यामप्रसाद रिजालको पनि तीजकै दिन दिउँसो सवारी दुर्घटनामा मृत्यु भएको थियो । उनको एक साता अघि शव नेपाल ल्याईपु¥याएर दाहसंस्कार गरिएको थियो ।