प्रदेश १ मा विकास खर्च शून्य

0
Shares

विराटनगर, (नेस)
आर्थिक विकास र समृद्धिको नारा लिएको प्रदेश नम्बर १ सरकारले चालू आर्थिक वर्षको पहिलो चौमासिक सकिन लाग्दासम्म पनि विकास बजेट खर्च गर्न सकेको छैन। हालसम्म विकास खर्च शून्य छ।

प्रदेश सरकारले २०७५÷७६ को लागि पुँजीगततर्फ १८ अर्व ७७ करोड ७४ लाख ५१ हजार रुपियाँ विनियोजन गरेको छ। जसमध्ये ८२ लाख ४८ हजार रुपियाँ मात्र खर्च गरेको छ। यो खर्च प्रशासनिकतर्फको मात्रै पुँजीगत बजेट हो। तर, प्रदेश सरकारले विकास बजेट खर्च गर्न सकेको छैन। प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख बालकृष्ण थापाका अनुसार विकास बजेट शीर्षकमा विनियोजन गरिएको कत्ति पनि रकम भुक्तानी नै भएको छैन।

थापाका अनुसार मन्त्रालयहरूले तत्काल आफ्ना संरचना निर्माण गरी काम नगर्ने हो भने यो आर्थिक वर्षको पहिलो चौमासिकमा विकास बजेट खर्च शून्य हुने देखिन्छ। पुँजीगत मात्र होइन कार्यक्रमतर्फको विकास बजेट पनि मन्त्रालयले खर्च गर्न सकेका छैनन्।

प्रदेशअन्तर्गतका विषयगत मन्त्रालयले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा न्यूनतम १८ देखि २८ प्रतिशतसम्म बजेट खर्च गर्ने लक्ष्य लिएका छन्। सोही अनुसार विभिन्न योजनामा बजेट बाँडफाँड पनि गरिएको छ। तर, पहिलो चौमासिकको तीन महिना बित्नै लाग्दासमेत मन्त्रालय भने विकास बजेट खर्च गर्ने सम्बन्धमा अगाडी बढ्ने सकेका देखिएका छैनन्।

प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ३५ अर्ब ९३ करोड ८ लाख ५९ हजार रुपियाँ विनियोजन गरेको छ। संघीय सरकारले प्रदेश सरकारलाई आवश्यक पर्ने कर्मचारी नपठाउदा प्रदेश सरकारको काम कारबाही प्रभावित हँुदै आएको मुख्यमन्त्री शेरधन राईले बताउनुभयो। उहाँका अनुसार त्यसको मार विकासे बजेट कार्वान्वयमा देखिएको छ। आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङम्बोले कर्मचारीको अभावदेखि आवश्यक संरचना नहुँदा विकास बजेट कार्यान्वयनमा समस्या भएको बताउनुभयो। उहाँले स्वीकृत भएको दरबन्दीको आधाभन्दा बढी कर्मचारी नै पदपूर्ति हुन नसक्दा पनि समस्या हुने गरेको जानकारी दिनुभयो।