जेष्ठ नागरिकलाई धुलिखेल कल्याणकारी सेवाको सम्मान

0
Shares

काभ्रे, (नेस)
धुलिखेल कल्याणकारी सेवा समाज धुलिखेलको तेस्रो वार्षिक साधारणसभाको अवसरमा आयोजित दशैंको शुभकामना आदान प्रदान तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम एक समारोहबीच सम्पन्न भयो।

कार्यक्रमको उद्घाटन गर्दै धुलिखेल नगरपालिका–७ का वडा अध्यक्ष रोमीप्रसाद ब्याञ्जू श्रेष्ठले धुलिखेल नगरपालिकाको नीति नियमभित्र रहेर सांगठनिकरूपमा काम गरे आफ्नो सधैं साथ रहने बताउनुभयो। श्रेष्ठले दशैंको शुभकामना प्रदान गर्नुका साथै समाजका जेष्ठ नागरिक ८४ वर्षीय शेरबहादुर गजुरेल र ७७ वर्षीया बालकुमारी गजुरेललाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो।

कार्यक्रममा समाजका सचिव गायत्रीरमण घिमिरेले संस्थाको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। उहाँले समाज धुलिखेल बाहिरबाट धुलिखेलमा आई बसोबास गर्ने नेपालीहरूको सांगठनिक संस्था भएको जानकारी गराउँदै संस्थाका सदस्यहरूको एकताको खाँचो रहेको कुरा औंल्याउनुभयो। उहाँले हालसम्म ५६ परिवारका ३ सयभन्दा बढी सदस्य समाजमा ऐक्यबद्ध भइसकेको जानकारी गराउनुभयो।

समाजका सदस्यहरुमा परिआउने दुःखद घटना, मृत्यु संस्कारका लागि संस्थाका सदस्यहरुबाट आवश्यक रकम संकलन गरी प्रतिपरिवार २५ हजारका दरले उपलब्ध गराउँदै आएको पनि घिमिरेले जानकारी गराउनुभयो। साथै समाजका सदस्यमध्ये जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यको पनि थालनी गरिएको जानकारी गराउनुभयो।

सोही अवसरमा समाजसेवी सुदर्शन वेंजु श्रेष्ठले धुलिखेल बाहिरबाट आई बसोबास गर्नेहरूले गुठी बनाएर सम्मान, दुःखसुखमा साथ दिने परम्पराको थालनी गरेकोमा खुसी व्यक्त गर्दै जेष्ठ नागरिकहरुले सक्तिनँ भनेर निरास हुने होइन, जे सकिन्छ त्यो काम गरेर आफूलाई व्यस्त राखी खुसी र सुखी हुन सिक्नोस् भन्नुभयो।