संघीय संसद्को हिउँदे अधिवेशन पुसबाट

0
Shares

नेपाल समाचारपत्र, पर्वत
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी पुसदेखि संघीय संसद्को हिउँदे अधिवेशन शुरू हुने बताउनुभएको छ। नेपाल पत्रकार महासंघ पर्वतले सदरमुकाम कुश्माबजारमा शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले स्थानीय तह र प्रदेशका लागि आवश्यक कानुन बनाउनका लागि संघीय संसद्को हिउँदे अधिवेशन पुसबाटै शुरू हुने बताउनुभएको हो।

आफूले बजेट अधिवेशनकै क्रममा प्रदेश र स्थानीय तहका लागि आवश्यक कानुन पास गर्ने पक्षमा जोड दिए पनि समय अभाव र मौलिक हकका कानुनहरु पास गर्नुपर्ने अवस्थामा पूरा हुन नसकेको उहाँको भनाइ छ। ‘बजेट अधिवेशनमा स्थानीय र प्रदेश सरकारलाई आवश्यक पर्ने कानुनहरु निर्माण गर्न नसक्दा काम गर्न कठिन भएको छ’, उहाँले भन्नुभयो– ‘स्थानीय र प्रदेशलाई चाहिने कानुन प्राथमिकतामा राखेर बनाउनुपर्छ भनेर पुसमा नै अधिवेशन बोलाउने योजनामा छौं।’
सरकारले आवश्यक ठानेको अवस्थामा मंसिरमै पनि शुरू हुन सक्ने बताउँदैै अध्यक्ष तिमिल्सिनाले धेरै विधेयकहरू टुंगो लगाउनुपर्ने अवस्था भएकाले मोटामोटीरूपमा पुसदेखि शुरू गर्दा धेरै छलफल गरेर धेरै विधेयक पास सहज हुने बताउनुभयो। प्रतिनिधि सभा र राष्ट्रिय सभाको दुवै सदनमा पुसदेखि अधिवेशन शुरू नगर्दा पर्याप्त छलफल हुन नसक्ने र पुनः वैशाखदेखि वर्षे अधिवेशन गर्नुपर्ने भएकाले ढिलाइ हुने उहाँको धारणा छ।

तिमिल्सिनाले १६ वटा मौलिक हक कार्यान्वयनको चरणमा रहेको बताउँदै दुवै सदनबाट सर्वसम्मतरूपमा पास भएको बताउनुभयो। उहाँले सदनमा सांसदहरूले मौलिक हकका विधेयकहरू छलफल नै नगरी पारित गरिएको भन्ने आरोपको खण्डन पनि गर्नुभयो। सांसदका लागि विधेयकहरू अध्ययनका लागि समय दिए पनि पारित गर्न छोटो समय भएकाले केही छोटो प्रक्रियामा जानुपरेको उहाँले बताउनुभयो। ‘प्रतिनिधि सभामा उत्पत्ति भएका विधेयक र राष्ट्रिय सभामा उत्पत्ति भएका विधेयकहरू सम्बन्धित सदन र समितिमा पर्याप्त छलफलपछि अर्को सदनमा गएका हुँदा समय अभावले यस्ता विधेयकहरू छोटो प्रक्रियामा गएर पारित गरिएको हो।’ –उहाँले भन्नुभयो।

प्र्रतिनिधि सभाबाट आएका विधेयकहरू अध्ययनका लागि सांसदलाई दिए पनि अध्ययन नै नगर्ने र पारित भएपछि थाहा पाइनँ भन्ने गरेको सुनेको बताउँदै कतिले अध्ययन गर्नुभयो, कतिले अध्ययन नगरी त्यसै ताली बजाउने र आफू पछि हट्न खोजेको आरोप उहाँको थियो। ‘समितिमा पर्याप्त छलफल गरेर ल्याउनुपर्ने विधेयकहरू छोटो प्रक्रियाबाट ल्याउँदा केही समस्या भयो’, उहाँले भन्नुभयो– ‘अब यस्तो गल्ती हुँदैन।’

अर्को प्रसंगमा तिमिल्सिनाले वर्तमान सरकारले निकै राम्रा काम शुरुआत गरेको बताउनुभएको छ। उहाँले अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाएर नेपालको छवि उच्च बनाउने काम गरेको बताउँदै दुई छिमेकी मुलुकसँगको सम्बन्धलाई प्रभावकारी बनाएको बताउनुभयो। केपी ओली नेतृत्वको अघिल्लो सरकारको पालामा भएका समझदारीलाई कार्यान्वयनमा ल्याउने काम गरेको बताउनुभयो।