कृष्णउदास खनाल, वीरगन्ज
वीरगन्ज महानगरपालिकाको बीपी उद्यानस्थित रातो बङ्गलामा राखिएको ह्युमपाइप घटनामा एकजना बालकको ज्यान गएको र तीनजना बालिका गम्भीर घाइते भएको सन्दर्भमा गृह मन्त्रालयले छानबिनको आदेश दिएको छ।
ह्युमपाइपमा खेल्नेक्रममा ९ वर्षीय रोहित चौधरीको मृत्यु भएको थियो भने समान उमेरका अनुष्का र अङ्किता चौधरी तथा आयुषा यादव गम्भीर घाइते भएका थिए। सांसद प्रदीप यादवले सरोकारवालालाई ज्ञापन दिएर घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेकाले गृह मन्त्रालयले छानबिन गर्न निर्देशन दिएको हो। पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले घटना छानबिनका लागि गृह मन्त्रालयको पत्र आएको पुष्टि गरेका गरे।
कालिका कन्स्ट्रक्सनका व्यवस्थापक ठाकुर ढकालले घटनामा कालिका कन्स्ट्रक्सन दोषी नभएको दाबी गरेका छन्। उनले मझौला शहर एकीकृत वातावरणीय आयोजनाका लागि आफूसँग एडीबीको सम्झौता भएपछि सम्झौताअनुसार ह्युमपाइप बनाएको र मेयर विजय सरावगीको मौखिक निर्देशनमा रातो बङ्गलामा जेठ महिनामा राखिएको बताए।
उनले आफूले विश्वव्यापी मान्यताअनुसार पिरामिड शैलीमा ह्युमपाइप राखेको तर वीरगन्ज महानगरपालिकाका वरिष्ठ अधिकृत सुमन श्रेष्ठले मेला प्रयोजनमा झुला राख्न समस्या देखाएर पहिले राखेको ह्युमपाइपलाई अन्यत्र हटाइदिएपछि त्यस ह्युमपाइपमा चढेका बालबालिकाहरू दुर्घटनाको शिकार भएको बताए।
यता मेयर सराबगीले आफ्नो आदेशमा ह्युमपाइप त्यहाँ राखिएको स्वीकारेका छन्। कालिकाले एडीबीको आयोजनाका लागि निर्माण गरेको ह्युमपाइप राख्नका लागि स्थान दिएको तर बिनाइजाजत झुला राख्ने काम गरिँदा सो घटना भएको मेयर सरावगीले बताए। उनले आफूले माँ वैष्णव गुफाका लागि मात्र इजाजत दिएकामा सो स्थानमा जिल्ला प्रशासन कार्यालयको स्वीकृतिमा झुला राखिएको बताए।











प्रतिक्रिया