नेपाल समाचारपत्र, दार्चुला
युवा जनशक्ति विदेशिने क्रम दिनानुदिन बढ्न थालेपछि दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने दुहुँ गाउँपालिकाले सो क्षेत्रका युवालाई गाउँमै रोजगार बनाउने उद्देश्यका साथ यस वर्षबाट युवा स्वरोजगार कार्यक्रम लागू गर्ने जनाएको छ। गाउँ युवाबिहीन हुँदा विकास निर्माणका गतिविधिका साथै हरेक क्षेत्रमा असर पर्न थालेपछि युवालाई स्थानीयस्तरमै रोजगारी दिलाउन युवा स्वरोजगार कार्यक्रम सञ्चालनमा ल्याउने तयारी भइइरहेको गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले जानकारी दिए।
कार्यक्रम सञ्चालनका लागि गाउँकार्यपालिकाको बैठकबाट कार्यक्रम सञ्चालन कार्यविधिसमेत पारित भइसकेको उनले बताए। कार्यक्रम सञ्चालनका लागि गाउँसभाबाट २० लाख रुपियाँ विनियोजन गरिएको समेत उनले जानकारी दिए। स्थानीयस्तरमा रहेका सम्भावनाको पहिचान गरी उक्त सम्भावनालाई व्यावसायिकतातर्फ जोड्दै युवालाई रोजगारीका अवसर दिलाउने उनको भनाइ छ। युवाहरूले व्यवसाय गर्न चाहने तथा पैसाको अभावमा व्यवसाय गर्न नसकेका कारण विदेशिने क्रम बढेको गाउँपालिकाका अध्यक्ष कार्कीले बताए।
विदेशिने युवा जनशक्तिलाई गाउँघरमै रोजगारीका अवसर दिलाई विकसित गाउँ तथा समृद्ध समाज निर्माण गर्नेतर्फ स्थानीय सरकारे लाग्नु आजको आवश्यकता भएको उनले बताए। युवालाई व्यवसाय गर्न नगद तथा प्रविधि वितरण गर्ने कार्यक्रमको योजना रहेको अध्यक्ष कार्कीले बताए। यस्तै गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रमसमेत यसै वर्षबाट सञ्चालनमा आउने उनले जानकारी दिए।











प्रतिक्रिया