नेपाल समाचारपत्र, काभ्रे
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवालीले पुनर्निर्माणको लागत इस्टिमेट पुनरावलोकन गर्न लागिएको बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज ९सेजन० ले गरेको राष्ट्रिय पुनर्निर्माणसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै ज्ञवालीले उक्त कुरा बताएका हुन्। ‘संसद्ले पुनर्निर्माणका लागि तोकिएको समय २०७७ पुष १० गते अगावै हामी सबै क्षेत्रको पुनर्निर्माण सक्नेछौं’, कार्यकारी प्रमुख ज्ञवालीले भने– ‘भूकम्प जानेबित्तिकै गरिएको लागत इस्टमेटको पुनरावलोकन गर्ने तयारीमा जुटेका छौं।’ ९ सय ३८ अर्ब लागत इस्टमेट गरिएकामा ४ सय १० अर्ब अन्तर्राष्ट्रियस्तरको सहयोग प्राप्त हुने घोषणा गरिएको भए पनि ३ सय ५३ अर्ब सहयोग घोषणा भयो।
त्यसमध्ये २ सय ६२ अर्ब सम्झौता भयो। सम्झौता भएको मध्ये भारत सरकारको ७५ अर्ब रकम अन्यत्र जोडियो। त्यसको बारेमा अहिले प्राधिकरणले पुनरावलोकन गर्ने तयारी गरेको ज्ञवालीले बताए। पुनर्निर्माणसँगै आर्थिक र सामाजिक पुनर्निर्माणको अभियान शुरू गरिरहेको बताउँदै ज्ञवालीले झन्डै ६ अर्ब पैसा पुर्निर्माणका लागि अपुग भएको जानकारी दिए।
पत्रकारले राखेको जिज्ञासमा ज्ञवालीले पञ्चवर्षीय पुनर्निर्माणको मध्यतिर आइपुगेकाले विगतको अनुभव र बाँकी अवधिको योजनासहित समीक्षा गर्ने तयारीमा प्राधिकरण रहेको बताए। पुनर्निर्माणका लागि आवश्यक भएको रकमको व्यवस्थापन गरिरहेकाले भावी पुस्तालाई समेत ज्ञान हस्तान्तरण गर्न पुनर्निर्माणको अभिलेख राख्ने तयारी गरिएको छ।
७ सय ५३ वटा सम्पदा पुनर्निर्माणको सूचीमा भएकामध्ये १ सय ८५ वटा सम्पदाको निर्माण सकिएको र ३ सय ८५ वटा निर्माणाधीन अवस्थामा रहेका छन्। ९७ प्रतिशत लाभग्राहीले सम्झौता गरिसकेको, ६७ प्रतिशतले दोस्रो किस्ता प्राप्त गरेको र ३७ प्रतिशतले तेस्रो किस्ता लिइसकेको ज्ञवालीले बताए। ‘दुईतिहाइ निजी आवास पुनर्निर्माण भइसकेको छ’, ज्ञवालीले भने– ‘आवाससँगै विद्यालय र स्वास्थ्य संस्थाको साथमा सम्पदाको निर्माण भइरहेको छ।’
स्थानीय सरकारलाई पुनर्निर्माणको जिम्मेवारी र सहकार्यका लागि जिम्मेवार बनाउन जिल्ला समन्वय समिति र स्थानीय सरकार प्रमुखको अध्यक्षतामा तल्लो तहसम्म समिति गठन गर्न लागिएको उनले बताए। भूकम्प पीडितलाई ३ लाखको सहुलियत ब्याजको ऋण उपलब्ध गराउन सहज बनाउने बताउँदै स्थानीय पुनर्निर्माण कमिटी गठन गरी इन्जिनियरलाई गाउँमै फर्काउने अभियान शुरू गरिएको ज्ञवालीले बताए। प्राधिकरणको कार्य र समयावधि सकिएपछि पनि स्थानीयस्तरमै प्राधिकरणको काम गर्ने संयन्त्र गठन गर्ने गरी तयारी भइरहेको उनले बताए।











प्रतिक्रिया