किशोरी बलात्कृत, महिला बेखबर

0
Shares

हेटौंडा, (नेस)
होटलमा लगेर एक युवकले आफूलाई बलात्कार गरेको भन्दै १५ वर्षीया एक किशोरीले दिएको उजुरीका आधारमा प्रहरीले युवकलाई पक्राउ गरेको छ। साथी बनाएर होटलमा लगी बलात्कार गरेको भन्दै किशोरीले जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा उजुरी दिएपछि युवक पक्राउ परेका हुन्।

किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले ३० वर्षीय कमलराज गिरीलाई पक्राउ गरेको हो। गत मंगलबार युवकले आफूलाई हेटौंडा–१० स्थित गेस्टहाउसमा बोलाएर बलात्कार गरेको किशोरीको दाबी छ। किशोरी मकवानपुरको भीमफेदी गाउँपालिकाकी हुन्।

पीडितको आरोपका आधारमा प्रहरीले आरोपित हेटौंडा–१ का गिरीलाई नियन्त्रणमा लिएको हो। ९ कक्षामा अध्ययनरत किशोरीले ‘खाजा खाऊँ’ भनेर होटलमा लगी बलात्कार गरेको आरोप लगाएकी छिन्।

छोरी हराएपछि उनका अभिभावकले प्रहरीमा खबर गरेका थिए। त्यसको केही समयपछि पीडित किशोरी आफैैं जिल्ला प्रहरी कार्यालय पुगेर आफू बलात्कृत भएको उजुरी दिएकी थिइन्। पीडितले उजुरी दिएपछि प्रहरीले त्यही दिन राति गिरीलाई पक्राउ गरेको थियो।

हेटौंडा–१४, पदमपोखरीको सनराइज बोर्डिङका शिक्षक नारायण सुनारकी २४ वर्षीया पत्नी अनुसा थापामगर शुक्रबारदेखि हराएकी छन्। उनलाई देख्नेले नजिकको प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको फोन नम्बर ९८५५०९०१५० मा सम्पर्क गरी सहयोग गर्न प्रहरीले अनुरोध गरेको छ।