सार्वजनिक बसमा हतियारसहित प्रहरी

0
Shares

हेटौंडा, (नेस)
जिल्ला प्रहरी कार्यालय मकवानपुरले चाडपर्व लक्षित सुरक्षा योजना बनाएर सार्वजनिक गरेको छ। जिल्ला प्रहरीले राति लोकमार्ग, भित्रीमार्गमा हुनसक्ने डँकैती÷लुटपाटलाई मध्यनजर गरी सार्वजनिक बसमा हतियारसहित प्रहरी खटाइने बताएको छ।

यसरी प्रहरी टोली खटिएर लोथरदेखि रजैया, रजैयादेखि बसामाडी, बसामाडीदेखि बसपार्क, बसपार्कदेखि चुरियामाईसम्म क्रस पट्रोलिङ परिचालन गरिनेछ। जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतसमेतबाट चाडपर्व सुरक्षार्थ ६ सय ८२ प्रहरी कर्मचारी खटाइने भएको छ।

कार्यालयले जिल्ला प्रहरी कार्यालयमा कमान्ड पोस्ट रहने, जिल्ला तथा मातहत प्रहरी एकाइबाट कुनै घटना हुनासाथ परिचालन हुनसक्ने गरी १२ वटा टोली मोटरसाइकल र पिकअप भ्यानमा तयारी हालतमा राख्ने, जिल्ला तथा मातहत एकाइबाट पिकअप गाडीमा १० वटा मोबाइल गाडी परिचालन गरिने, जिल्लाका विभिन्न स्थानबाट परिचालित हुने गरी मोटरसाइकल गस्ती परिचालन गरिने, सूचना संकलन र अपराध नियन्त्रणका लागि जिल्लाका सम्पूर्ण प्रहरी एकाइबाट पैदल गस्ती परिचालन गरिने भएको छ।

जिल्ला तथा मातहत ३२ स्थानमा पिकेट ड्युटी खटाइने, लोकमार्ग तथा भित्री मार्ग खाली नहुने गरी विभिन्न १६ एरियामा २४सै घन्टा ट्राफिकसहित संयुक्त प्रहरी चेकिङ सञ्चालन गरिने, ग्रामीण क्षेत्र र बस्तीमा चोरी, डकैती हुन नदिन विशेष निगरानी बढाइने, आपराधिक सूचना संकलन, गैरकानुनी गतिविधि, शंकास्पद व्यक्तिको निगरानी गर्न जिल्लाभर सादा पोशाकमा प्रहरी परिचालन गरिने, सरकारी कार्यालय, बैंक तथा बित्तीय संस्था, सुनचाँदी पसललगायत आर्थिक कारोबार हुने स्थानको सुरक्षार्थ जिल्लाका १५ एरियामा प्रहरी परिचालन गरिनेछ।

जुवातास, लंगुरबुर्जा खेलाउने तथा पटाका, विस्फोटक पदार्थ पड्काउने कार्यलाई नियन्त्रण गर्न विशेष टोली तैनाथ गरिने, आगलागी, सवारी दुर्घटनाजस्ता प्रकोपका घटनामा तत्काल प्रहरी परिचालन गर्ने गरी तयारी हालतमा राखिनेछ।