भीरबाट लडेर दुई घाइते

0
Shares

दार्चुला, (नेस)
दार्चुलामा भीरबाट लडेर एकैदिन दुईजना घाइते भएका छन्। घाइते दुईजनामध्ये एकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। घाँस काट्ने क्रममा शनिबार बिहान भीरबाट लडेकी महाकाली नगरपालिका–५ गल्फैकी २४ वर्षीया गोमती ठगुन्ना गम्भीर घाइते भएको दार्चुलाका प्रहरी प्रवक्ता हिक्मतबहादुर बोहराले जानकारी दिए। घाइते ठगुन्नाको टाउकोमा गहिरो चोट रहेको उनले जानकारी दिए।

शनिबार बिहान स्थानीय सिराड वनमा घाँस काट्न गएका बेला भीरबाट करिब ४०र५० मिटर तल खसेकी ठगुन्नाको जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि सुदूरपश्चिमको धनगढी रिफर गरिएको अस्पताल स्रोतले जनाएको छ।

यस्तै घाँस काटिरहेको अवस्थामा एक्कासी भीरबाट लडेकी ब्याँस गाउँपालिका–६ खातीगाउँकी १४ वर्षीया बालिका विनु खाती घाइते भएकी छिन्। शनिबार बिहानै स्थानीय वनमा घाँस काट्न गएका बेला भीरबाट खसेकी खातीको बायाँ खुट्टामा चोट रहेको प्रहरीले जनाएको छ। उनको भने जिल्ला अस्पतालमै उपचार भइरहेको छ।