प्रतिकूलतामा अनुकूलता खोज्दै बालबालिका

0
Shares

चिरञ्जीवी मास्के, दोलखा
एउटा सानो टिनले छाएको दुई कोठे घर, केही बेडहरू, ग्यास चुलो, ¥याक र केही थान भाँडा वर्तन अनि १७ जना विद्यार्थी। यो दृश्य हो हिन्दू स्वयंसेवक संघ नेपालले भीमेश्वर नगरपालिका–६ रामकोटमा सञ्चालन गरेको आमाको माया छात्राबासको।

बाहिरबाट हेर्दा असहज र अस्वभाविक लाग्ने यो छात्राबासमा आश्रय लिइरहेका गरिब तथा विपन्न परिवारका विद्यार्थी भने यो ठाउँमा खुसी र सन्तुष्ट रहेको बताउँछन्। दोलखाको बैतेश्वर गाउँपालिकास्थित गैरीमुदी घर भएका १४ वर्षीय अनिल थापा एक वर्षअघिदेखि आमाको माया छात्राबासमा आश्रय लिइरहेका छन्। सदरमुकाम चरिकोटमा रहेको कालिञ्चोक माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्यनरत थापा आमाबुबा दुवै अशक्त रहेका र घरमा बसेर पढ्ने अवस्था नभएपछि आमाको माया छात्राबासमा आश्रय लिन आएको बताउँछन्।

‘बुबा प्यारालाइसिसको बिरामी हुनुहुन्छ, आमाको पनि घुँडाको समस्या छ अनि आर्थिक अवस्था पनि निकै कमजोर छ त्यसैले केही असहज नै भए पनि खुसीसाथ बसिरहेको छु’ –थापाले भने। हिन्दू स्वयंसेवक संघ र जनजाति कल्याण आश्रम नेपालले सञ्चालन गरेको आमाको माया छात्राबासमा आश्रय लिन आउने विद्यार्थीलाई पढ्न, बस्न र खान निःशुल्क व्यवस्था गरिएको छ। छात्राबासमा आउनेहरू कतिलाई उनीहरूकै अभिभावकले ल्याउने गरेका छन् भने कतिपय विद्यार्थी हिन्दू स्वयंसेवक संघ र जनजाति कल्याण आश्रम नेपालले सञ्चालन गरेको अभियानको क्रममा आउने गरेका छन्।

रामेछाप मुगिटारका १० वर्षीय विष्णु खड्का पनि एक वर्षदेखि आमाको माया छात्राबासमा आश्रय लिएर बसेका छन्। बुबाआमा दुवै भए पनि आर्थिक अवस्था अत्यन्त कमजोर रहेको र घरमा बसेर पढ्न सक्ने अवस्था नभएपछि छात्राबासमा आश्रय लिन आएको खड्का बताउँछन्। आमाबुबाको धेरै याद आउने भए पनि बाध्यतावश आश्रममा बस्नुपरेको खड्का बताउँछन्।

विद्यार्थीे संख्याको हिसाबले बस्ने ठाउँ साँघुरो र चिसो मौसममा जस्ताको छानाबाट शीत झर्ने समस्या रहेको भए पनि खाने र अन्य सुविधा भने राम्रो भएको आमाको माया छात्राबासमा आश्रय लिइरहेका विद्यार्थी बताउँछन्। आफूभन्दा साना विद्यार्थीका अभिभावकको भूमिकासमेत निर्वाह गर्दै आएका चितवन भण्डाराका गणेशकुमार प्रजा छात्राबासमा बस्नलाई भवनको केही समस्या भए पनि अरु सुविधाका हिसाबले राम्रो रहेको बताउँछन्। कालिञ्चोक माविमा कक्षा ११ मा अध्ययन गर्दै रहेका प्रजा भवनको सुधारका लागि आफूहरूले छात्राबास सञ्चालक संस्थालाई आग्रह गरेको पनि बताउँछन्।

रामकोटमा रहेको आमाको माया छात्राबासको रेखदेख र सञ्चालन गरिरहेको हिन्दू स्वयंसेवक संघ दोलखाका अध्यक्ष शिव केसी ठाउँको अभावका कारण साँघुरो ठाउँमा छात्राबास सञ्चालन गर्नुपरेको भन्दै नयाँ भवन निर्माणका लागि जग्गा खोज्ने काम भइरहेको बताउँछन्। २०७२ सालको विनाशकारी भूकम्पपछि सञ्चालनमा रहेको आमाको माया छात्राबासमा आश्रय लिइरहेका विद्यार्थीका लागि खाने, बस्ने र पढाउने खर्च विभिन्न व्यक्ति र संस्थासँग लिने गरेको र त्यसको हिसाब पारदर्शी ढंगले राखिएको हिन्दू स्वयंसेवक संघ दोलखाका अध्यक्ष केसीको भनाइ छ।

आमाको माया छात्राबासमा अहिले दोलखाको अलवा रामेछाप, चितवन, मकवानपुर, नवलपरासी, सिन्धुली, नुवाकोट र पाँचथरका १० देखि १८ वर्ष उमेर समूहका १७ जना विद्यार्थी रहेका र उनीहरू सबै सदरमुकाम चरिकोटमा रहेको कालिञ्चोक माध्यामिक विद्यालयमा अध्ययन गरिरहेको हिन्दू स्वयंसेवक संघ दोलखाले जनाएको छ।