नेपाल समाचारपत्र, ललितपुर
गोदावरी नगरपालिका–६ स्थित टीकाभैरवमा रहेको आनन्द वन अस्पतालमा अन्तर्राष्ट्रियस्तरको ट्रमा सेन्टर बन्ने भएको छ। यसका लागि आवश्यक प्रक्रिया अगाडि बढिसकेको अस्पताल प्रशासनले जनाएको छ।
स्थापनाको ६०औँ वर्षको अवसरमा सम्पूर्ण संरचना परिवर्तन गरी अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनाइने उक्त अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर इन्द्र नापितले जानकारी दिनुभयो। उहाँले अस्पतालको स्तर बढाई सेवाग्राहीलाई थप स्वास्थ्य सेवा दिन ट्रमा सेन्टरको परिकल्पना गरिएको प्रष्ट पार्नुभयो।
यसको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिँदै नापितले भन्नुभयो– ‘केही महिनाबाटै शुरु गरी २ वर्षभित्र ९सन् २०२० सम्म० योजना सम्पन्न गर्ने लक्ष्य छ, अहिले डिजाइन, सर्भेलगायतको काम अन्तिम चरणमा पुगेको छ।’
अमेरिकन लेप्रोसी मिसनको प्रत्यक्ष सहयोगमा बन्न लागेको उक्त ट्रमा सेन्टरलाई यूएसएडलगायतका विभिन्न दातृ संघसंस्थाको आर्थिक सहयोग हुने अस्पतालले जनाएको छ।
तीनतलेमा बन्ने उक्त भवन पूर्णरुपमा भूकम्पप्रतिरोधी र अत्याधुनिक हुने बताइएको छ। ४० शैøयाको क्षमता रहने उक्त भवनमा मातृशिशु वार्ड, शिशु वार्ड, इमर्जेन्सी, अत्याधुनिक तबरको २ ओटा अप्रेसन कक्ष, भेन्टिलेसनसहितको एनआईसीयू, आईसीयू रहने जनाइएको छ।
युरोपियन स्ट्यान्डरमा बन्ने सो भवनको संरचनामा जाडो समयमा न्यानो र गर्मी समयमा चिसो हुने विशेषता जडित हुनेछ। भवन पूर्णरुपमा अपांगमैत्री बन्नेछ। अस्पताल अग्नि नियन्त्रणका लागि फायर फाइटिङ सिस्टमसमेत जडान हुनेछ।
हाल हाडजोर्नी विशेषज्ञ, छाला रोग विशेषज्ञ, बालरोग विशेषज्ञ, जनरल सेवाविशेषज्ञ, मनोरोग विमर्शकर्ताले सेवा दिइरहेको यस अस्पतालमा ट्रमा सेन्टर बनेपछि स्त्रीरोग विशेषज्ञ थपेर सहुलियत दरमा सेवा दिने अस्पतालले जनाएको छ।
विनाशकारी भूकम्पका बेला ६ हजारभन्दा बढी भूकम्पपीडित बिरामीलाई प्रत्यक्ष स्वास्थ्य सेवा दिएको उक्त अस्पतालले जटिल प्रकृतिका १ सय २५ जना ट्रमाका बिरामीलाई समेत सेवा दिइसकेको छ।
कुष्ठरोगीलाई उपचार, सहयोग गर्दै स्वावलम्बी बनाउने उद्देश्यले लेले टीकाभैरवमा उक्त अस्पताल खोलिएको थियो। अहिलेसम्म २० हजार २ सय ९० जना कुष्ठरोगीलाई उपचार गराइएको र वार्षिक ३५ हजारभन्दा बढीलाई बहिरंग स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ।
अहिले जनरल मेडिसिन, छाला, यौन तथा कुष्ठरोग, हाडजोर्नी तथा नशारोग, बाल रोग तथा खोप सेवा, जनरल यूरो सर्जन, फिजियोथेरापीलगायतका सेवा दिइँदै आएको छ।
अस्पतालले कुष्ठरोगको जीवाणुसम्बन्धी अनुसन्धानमा विशेष दख्खल राख्ने विशेषज्ञबाट अनुसन्धानका लागि प्रख्यात प्रयोगशालाबाट सेवा दिएको र देशभरिबाट कुष्ठरोग, हाडजोर्नी, छाला रोगका बिरामी आउने गरेको अस्पतालको तथ्यांकमा उल्लेख छ। तर अस्पतालमा प्रसूति, आईसीयूजस्ता सेवा भने छैनन्।











प्रतिक्रिया