नेपाल समाचारपत्र, काठमाडौं
योङ पे्रसिडेन्ट्स अर्गनाइजेसन (वाईपीओ) कलकत्ता, भारत च्याप्टरका सदस्यहरूले मानव बेचविखनविरुद्ध लड्न १३ हजार फिट उचाइमा अवस्थित अन्नपूर्ण आधार शिविर आरोहण गरेका छन्।
नेपालबाट धेरै संख्यामा मानव बेचविखन हुने गरेको छ, जहाँका दुर्गम र अविकसित क्षेत्रका किशोरीहरू र महिलाहरूलाई अनेक प्रलोभनमा फसाइन्छ र विभिन्न प्रयोजनका लागि उनीहरूको बेचबिखन हुने गरेको छ।
वाईपीओ कलकत्ताका सदस्यहरू मानव बेचविखनका विरुद्धमा सक्रिय भएर आवाज बुलन्द गर्दै यसको रोकथामका लागि निरन्तर रूपमा क्रियाशील हुँदै आएका छन्।
वाईपीओ कलकत्ता च्याप्टरले यही ७ अक्टोबरदेखि १३ अक्टोबरसम्म एक ट्रेकको आयोजनामार्फत् १३ हजार फिटको उचाइमा अवस्थित अन्नपूर्ण आधार शिविरमा पुगेर कोषका लागि चन्दा उठाएका थिए।
वाईपीओ कलकत्ता च्याप्टरका सबै १५ जना सदस्यहरूले मानव बेचविखन विरुद्धमा जनचेतना अभिवृद्धि गर्न एवं कोष खडा गर्न संकलित कोषको सहायताबाट गैरसरकारी संस्थालाई दलालहरूको पन्जाबाट प्रत्यक्ष रूपमा ३० जना युवतीहरूको उद्धार गर्न सहयोग पुग्नेछ र ५ हजार नागरिकहरू सूचना संप्रेषण र परामर्शबाट लाभान्वित हुनेछन् भने यसले समुदायलाई बेचविखनविरुद्धमा संगठित हुन अभिप्रेरित गर्नेछ।
माइती नेपालले वाईपीओ कलकत्ता च्याप्टरका सदस्यहरूको सम्मानमा शनिबार माइती नेपालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका कार्यबाहक अध्यक्ष विश्व खड्काले भन्नुभयो– ‘वाईपीओ कलकत्ता च्याप्टरको यो एक अत्यन्त सराहनीय कार्य हो। यो कार्यबाट लैंगिक समानता भएको एक त्यस्तो समाज सिर्जना गर्नमा उल्लेखनीय योगदान पुग्नेछ, जहाँ कोही पनि बालिकाहरू बेचविखनको शिकार बन्ने छैनन्, शोषित पीडित हुने छैनन् र त्रासदीपूर्ण यातना सहन विवश हुने छैनन्।’
वाईपीओ कलकत्ता च्याप्टरका सदस्यहरूले कोषका लागि रकम मात्र संकलन गरेको नभई मानव बेचविखनको चपेटामा परेर विस्थापित भई कठोर जीवनयापन गर्न विवश भएकाहरूको पक्षमा उनीहरूको अधिकार, उचित न्याय र पुनःस्थापनाको विषयमा समेत जनचेतना फैलाएका छन्।











प्रतिक्रिया