ह्युमपाइपबाट बालक मृत्यु प्रकरणः छानबिन गर्न गृहको निर्देशन

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
वीरगन्ज महानगरपालिकाको विपी उद्यानस्थित रातो बङ्गलामा राखिएको ह्युमपाइप घटनामा एकजना बालकको ज्यान गएको र तीनजना बालिका गम्भीर घाइते भएको सन्दर्भमा गृह मन्त्रालयले छानबिनको आदेश दिएको छ ।

ह्युमपाइपमा खेल्नेक्रममा ९ वर्र्षीय रोहित चौधरीको मृत्यु भएको थियो भने समान उमेरका अनुष्का र अङ्किता चौधरी तथा आयुषा यादव गम्भीर घाइते भएका थिए ।सांसद प्रदीप यादवले सरोकारवालाहरूलाई ज्ञापन दिएर घटनाको छानबिन गरी दोषीमाथि कारबाई माग गरेकाले गृह मन्त्रालयले छानबिन गर्न निर्देशन दिएको हो । पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले घटना छानबिनका लागि गृह मन्त्रालयको पत्र आएको पुष्टि गरेका गरे ।

कालिका कन्स्ट्रक्सनका व्यवस्थापक ठाकुर ढकालले घटनामा कालिका कन्स्ट्रक्सन दोषी नभएको दाबी गरेका छन्। उनले मझौला शहर एकीकृत वातावरणीय आयोजनाको लागि आफसँग एडिबीको सम्झौता भएपछि सम्झौता अनुसार ह्युमपाइप बनाएको र मेयर विजय सरावगीको मौखिक निर्देशनमा रातो बङ्गलामा जेठ महिनामा राखिएको बताए । उनले आफले विश्वव्यापी मान्यता अनुसार पिरामिड शैलीमा ह्युमपाइप राखेको तर वीरगंज महानगरपालिकाका वरिष्ठ अधिकृत सुमन श्रेष्ठले मेला प्रयोजनमा झुला राख्न समस्या देखाएर पहिले राखेको ह्युमपाइपलाई अन्यत्र हटाइएपछि त्यस ह्युमपाइपमा चढेका बालबालिकाहरू दुर्घटनाको शिकार भएको बताए ।

यता मेयर सरावगीले आफनो आदेशमा ह्युमपाइप त्यहाँ राखिएको स्वीकारेका छन् । कालिकाले एडिबीको आयोजनाको लागि निर्माण गरेको ह्युमपाइप राख्नको लागि स्थान दिएको तर बिनाइजाजत झुला राख्ने काम गरिंदा सो घटना भएको मेयर सरावगीले बताए । उनले आफ्ले माँ वैष्णव गुफाको लागि मात्र इजाजत दिएकोमा सो स्थानमा जिल्ला प्रशासन कार्यालयको स्वीकृतिमा झुला राखिएको बताए ।