म्याग्दीको गुर्जा हिमाल अपडेटः बेपत्ता आरोहीको शव देखिए पनि उद्धार हुन सकेन

0
Shares

प्रताप बानियाँ, म्याग्दी ।
म्याग्दीको धौलागिरी गाउँपालिका–१, स्थित गूर्जा हिमालको आधारशिविरमा बेपत्ता पर्यटकहरुको शव देखिए पनि उद्धार हुन सकेको छैन । दक्ष जनशक्ति र उपकरण नहुँदा बेपत्ता पर्यटकको शव देखिएपनि उद्धार हुन नसकेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

गूर्जा हिमाल आरोहण गर्न गएको ५ जना कोरियाली र ४ जना नेपालीमध्ये ७ जनाको शव देखिएको गूर्जाबाट वडा अध्यक्ष झकबहादुर छन्त्यालले टेलिफोनमा जानकारी दिनुभयो । बिहान हेलिकप्टरबाट हेर्दा ८ जनाको शव देखिए पनि स्थानीयवासिन्दा घटनास्थल पुगेर हेर्दा ७ जनाको मात्रै शव भेटिएको उहाँले बताउनुभयो ।

खोंच र अप्ठ्यारो भिरमा रहेका कारण उपकरणविना शव उठाउन सकिएको छैन । देखिएका शवमध्ये ४ जना कोरियन, २ जना नेपाली मात्रै चिनिएको छ भने एकजना चिन्न नसक्ने अवस्थामा रहेको जानकारी आएको म्याग्दीका प्रहरी नायव उपरीक्षक विरबहादुर बुढामगरले जानकारी दिनुभयो ।

सिम्रिक एअरको हेलिकप्टर पोखरा आएर बसेको हुँदा आइतबार बिहान मात्रै बेपत्ता शवको उद्धार गरिने म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो । बेपत्ता भएकाहरुको खोजी गर्न गूर्जा गाउँबाट १६ जना स्थानीय घटनास्थल पुगेका थिए । गूर्जा गाउँदेखि घटनास्थल गूर्जा हिमालको आधारशिविर पुग्न पाँच घण्टाको समय लाग्ने वडा अध्यक्ष छन्त्यालको भनाइ छ ।

उहाँले दिएको जानकारी अनुसार क्षतविक्षत अवस्थामा शवहरु रहेका छन्भने हिमआँधीका कारण यत्रतत्र टेन्ट समेत छरिएको छ । ७ हजार १९३ मिटर अग्लो गूर्जा हिमाल आरोहणका लागि गएको पर्यटकको टोली हिमआँधी र हुरीमा परेको थियो । हिमआँधीका कारण दुर्घटना भएको बताइएको छ । आज बिहान उद्धारका लागि सिम्रिक एअरको हेलिकप्टर घटनास्थल पुगेपनि अवतरण हुन नसकेपछि फर्किएको थियो ।

कोरियाली नागरिक किम चङ होको नेतृत्वमा गूर्जा हिमाल आरोहणका लागि प्रस्थान गरेको टोली बेसक्याम्पमा बास बसेको थियो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले गूर्जा हिमाल आरोहण गर्न गएको ५ जना कोरियाली र ४ जना नेपालीको टोली हिम आँधीहुरीमा परेका हुन् ।