तीन महिनामा ७ बलात्कार

0
Shares

हेटौंडा ।
मकवानपुरमा शान्ति÷सुव्यवस्थाको अवस्था कमजोर देखिएको छ । करिब ३ महिना अवधिमा जिल्लामा बलात्कारजन्य ७ घटना भएपछि यसले स्थानीयमा त्रास देखिएको छ । यिनै घटनाअनुसार स्थानीयहरु आफ्ना छोरीहरुलाई एक्लै कुनै ठाउँमा पठाउनै नसक्ने अवस्थामा पुगेका छन् ।

असोज २३ गते मंगलबार । मकवानपुर भीमफेदी गाउँपालिकाकी १३ वर्षीया किशोरीलाई हेटौंडा–१, पिपलबोटस्थित गेष्टहाउसमा लगेर बलात्कार भएको घटना सार्वजनिक भएको छ ।

हेटौंडा–१ का कमलराज गिरीले आफूलाई ललाइफकाइ गेष्टहाउसमा लगेर बलात्कार गरेको भन्दै किशोरीले बुधबार जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेकी थिइन् । प्रहरीले उजुरीकै राति पीडक आरोपित गिरीलाई पक्राउ गरेको थियो ।

प्रहरीले पीडित र पीडकको स्वास्थ्य परीक्षणका लागि हेटौंडा अस्पताल पठाएको छ । परीक्षणको रिपोर्ट आइतबारसम्म आइपुग्ने भएकाले बलात्कार हो÷होइन भन्ने कुरा त्यही रिपोर्टबाट पुष्टि हुने प्रहरी भनाइ छ । गिरीलाई हिरासतमा राखिएको छ ।

चालु आर्थिक वर्ष २०७५÷०७६ को हालसम्मको जिल्ला प्रहरी कार्यालयको तथ्यांक हेर्दा हालसम्म बलात्कारका सात घटना भएका छन् । जसमा दुई वटा उद्योग र पाँच वटा बलात्कार रहेको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिनुभयो ।

बागमती गाउँपालिका–८ मा भर्खर किशोरावस्था प्रवेश गरेकाले नाबालिकालाई बलात्कार गरेको घटना कार्यालयमा दर्ता भएको छ, जसमा १३ वर्षका पीडक र पीडित चार वर्षकी रहेको प्रहरी तथ्यांकमा छ । ‘चक्लेट दिन्छु’ भन्दै नाबालिकालाई फकाइ उनकै घरमा जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ । पीडक सुधारगृहमा छन् ।

७ वटा मुद्धामध्ये अधिकांशमा पीडक र पीडित १० वर्षदेखि २० वर्ष नकटेको प्रनाउ सिंहले जनाउनुभयो । यस्ता घटना बढ्दै जानुमा जनचेतना कमी भएको प्रहरी नायब उपरीक्षक सिंह बताउनुहुन्छ । नाबालकमाथि यस्ता क्रियाकलाप गर्दा उनीहरु बोल्न नसक्ने र आफू सुरक्षित हुन्छु भन्ने सोचाइ भएको उहाँले बताउनुभयो ।

बलात्कारका घटनाहरु दैनिक हुने गरेका सार्वजनिक भइरहेका छन् । हिजोआज प्रहरीमा जाने अधिकांश मुद्धा बलात्कारका बन्ने गरेको तथ्यांकले देखाउँछ । बालिकाहरुलाई विभिन्न लोभ देखाएर करणी गरिँदै आएको देखिन्छ ।

कहिले टिभी हेर्न दिन्छु भन्ने र कहिले मिठाइ÷चकलेट दिएर करणी गरेको भन्ने खुलेको छ । गलत मनसाय भएको व्यक्तिले उनीहरुलाई सजिलै फसाउन सक्ने, केही कुरामा लोभ देखाउने र आफ्नो स्वार्थपूर्ति गर्ने प्रवृत्तिले बालिकामाथि अपराध हुने गरेको प्रहरी भनाइ छ ।