धनवीर दाहाल, रुकुम ।
जनप्रतिनिधिले आफ्नो पारिश्रमिक रकमबाट दशैं तिहारको उपलक्ष्यमा जेष्ठ नागरिकका लागी सम्मान स्वरुप बनभोज तथा दशैंमिलन कार्यक्रम गरेका छन् । रुकुम पश्चिमको बाँफिकोट गाँउपालिका वडा नं ३ का अध्यक्ष चन्द्रबहादुर के.सी, वडा सदस्यहरु उर्दबहादुर पुरी, सामाना खत्री, देवबहादुर बोहरा र सुनिता विकले आफ्नो आफ्नो पारिश्रमिकबाट जेष्ठ नागरिकका लागी दशैंमिलन तथा बजभोज कार्यक्रम गर्नुभएको छ । वडा नं ३ मा रहेका सबै जेष्ठ नागरिकलाई सँगै राखेर उहाँहरुसँगै दशैंको शुभकामना आदानप्रदान गरिएको हो ।
बाँफीकोट गाँउपालिका वडा नं ३ का ४२ जना जेष्ठ नागरिकलाई सम्मान स्वरुप दशैंमिलन तथा बनभोज आयोजना गरिएको वडा नं ३ को वडा कार्यालयले जनाएको छ । दशैं तिहार लगाएतका चाडपर्वको शुभकामना आदान प्रदानका साथै बुढापाकाहरुको अनुभव साटासाट गर्न सो वडाका सबै जेष्ठ नागरिकलाई वडा कार्यालयले आमन्त्रण गरेको हो । चाडपर्वको शुभकामना सँगै जेष्ठ नागरिकको सम्मान स्वरुप दशैंमिलन तथा बनभोज कार्यक्रम गरिएको वडा अध्यक्ष चन्द्रबहादुर के.सीले बताउनुभयो । बाँफिकोट गाँउपालिका वडा नं ३ पैंयाबाराका ७३ बर्षका शसिराम खत्रीले आफुहरुलाई वडाले सम्मान गरेको बताउनुभयो ।
यस्तै सोही ठाँउका महेश्वर खत्रीले साँच्चीकै जनप्रतिनिधि भएको महसुस भएको बताउनुभयो । यस्तै सोही वडाकी मनसरी कामीले आफुहरुलाई वडाले सम्मान गरेको प्रति आभार प्रकट गर्नुभयो । आफुलाई पहिलो पटक गाँउमा सरकार भएको स्थानीय नौमति बोहराको भनाई थियो । सो कार्यक्रममा बाँफीकोट गाँउपालिकाका अध्यक्ष धर्मबहादुर के.सी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बेगम देवकोटा, बाँफिकोट गाँउपालिका कार्यकारी अधिकृत महेश गुरुङ, वडा नं ५ का अध्यक्ष कस्तुप दाहाल, वडा नं ४ का वडा सचिव ज्ञानबहादुर खड्का, ३ का वडा सचिव बिनोद रेग्मी , वडा नं ३ का वडा सदस्यहरु उर्दबहादुर पुरी, सामाना खत्री, देवबहादुर बोहरा, सुनिता विक लगाएतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बाँफिकोट गाँउपालिका अध्यक्ष धर्मबहादुर के.सीले जेष्ठ नागरिक यसरी सम्मान गर्नुपर्ने बताउनुभयो । जेष्ठ नागरिकको यसरी जमघट गराई आफ्ना अनुभव साटासाट गराएको र उहाँहरुलाई दशैंमिलन तथा भोज समेत व्यवस्था गरेकोमा वडा नं ३ को कार्यालयलाई अध्यक्ष के.सीले धन्यवाद समेत दिनुभएको थियो । कार्यक्रममा वडा नं ३ का अध्यक्ष चन्द्रबहादुर के.सीले दशैं र तिहारको बिचमा आफ्नो पारिश्रमिकबाट आएका एक लाख बराबरको रकमबाट असक्त, अपांग र जटिल प्रकारका बिरामीलाई सहयोग गर्ने घोषणा गर्नुभयो ।











प्रतिक्रिया