किरन धामी, दार्चुला ।
युवा जनशक्ति विदेशिने क्रम दिनानु दिन बढ्न थालेपछि दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने दुहुँ गाउँपालिकाले सो क्षेत्रका युवाहरुलाई गाउँमै रोजगार बनाउने उद्देश्यका साथ यस वर्षबाट युवा स्वरोजगार कार्यक्रमको लागु गर्ने जनाएको छ । गाउँ युवा बिहीन हुँदा विकास निर्माणका गतिविधिका साथै हरेक क्षेत्रमा असर पर्न थाले पछि युवाहरुलाई स्थानियस्तरमै रोजगारी दिलाउन युवा स्वरोजगार कार्यक्रम संचालनमा ल्याउने तयारी भैइरहेको गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
कार्यक्रम संचालनका लागी गाउँकार्यपालिकाको बैठकबाट कार्यक्रम संचालन कार्यविधि समेत पारित भैइसकेको उनले बताए । कार्यक्रम संचानका लागी गाउँसभाबाट २० लाख रुपैया विनियोजन गरिएको समेत उनले जानकारी दिए । स्थानिय स्तरमा रहेका सम्भावनाहरुको पहिचान गरी उक्त सम्भावनालाई व्यवसायिकता तर्फ जोड्दै युवाहरुलाई रोजगारीका अवसर दिलाउने उनको भनाई छ । युवाहरुले व्यवसाय गर्न चाहाने तथा पैसाको अभावमा व्यवसाय गर्न नसकेका कारण विदेशिने क्रम बढेको गाउँपालिकाका अध्यक्ष कार्कीले बताए ।
विदेशिने युवा जनशक्तिलाई गाउँघरमै रोजगारीका अवसर दिलाई विकसित गाउँ तथा समृद्ध समाज निर्माण गर्न तर्फ स्थानिय सरकारले लाग्नु आजको आवश्यकता भएको उनले बताए । युवाहरुलाई व्यवसाय गर्न नगद तथा प्रविधि वितरण गर्ने कार्यक्रमको योजना रहेको अध्यक्ष कार्कीले बताए । यस्तै गरिवी निवारणका लागी लघु उद्यम कार्यक्रम समेत यसै वर्षबाट संचालनमा आउने उनले जानकारी दिए ।
युवाहरुलाई उद्यमशिलता तर्फ आकर्षित गराई स्वरोजगार बनाउने उद्देश्यले कार्यक्रम संचालनमा ल्याउन लागिएको उनको भनाई छ । गरिवी निवारणका लागी लघु उद्यम कार्यक्रम संचालनका लागी ३० लाख रुपैया विनियोजना गरिएको अध्यक्ष कार्कीको भनाई छ । विनियोजित बजेटबाट बेरोजगार युवाहरुलाई व्यावसायिक कृषि तथा पशुपालनका लागि सहयोग गरिने गाउँपालिका अध्यक्ष कार्की जानकारी दिए ।











प्रतिक्रिया