किशोरी बलात्कृत, महिला बेखबर

0
Shares

हेटौंडा ।
होटलमा लगेर एक युवकले आफूलाई बलात्कार गरेको भन्दै १५ वर्षीया एक किशोरीले दिएको उजुरीका आधारमा प्रहरीले युवकलाई पक्राउ गरेको छ । साथी बनाएर होटलमा लगी बलात्कार गरेको भन्दै किशोरीले जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा उजुरी दिएपछि युवक पक्राउ परेका हुन् ।
किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले ३० वर्षीय कमलराज गिरीलाई पक्राउ गरेको हो । गत मंगलबार युवकले आफूलाई हेटौंडा–१० स्थित गेष्टहाउसमा बोलाएर बलात्कार गरेको किशोरीको दाबी छ । किशोरी मकवानपुरको भीमफेदी गाउँपालिकाकी हुन् ।
पीडितको आरोपका आधारमा प्रहरीले आरोपित हेटौंडा–१ का गिरीलाई नियन्त्रणमा लिएको हो । नौं कक्षामा अध्ययनरत् किशोरीले ‘खाजा खाऊँ’’ भनेर होटलमा लगी बलात्कार गरेको आरोप लगाएकी छन् ।
छोरी हराएपछि उनका अभिभावकले प्रहरीमा खबर गरेका थिए । त्यसको केही समयपछि पीडित किशोरी आफैैं जिल्ला प्रहरी कार्यालय पुगेर आफू बलात्कृत भएको उजुरी दिएकी थिइन् । पीडितले उजुरी दिएपछि प्रहरीले त्यही दिन राति गिरीलाई पक्राउ गरेको थियो ।
हेटौंडा–१४, पदमपोखरीको सनराईज बोर्डिङका शिक्षक नारायण सुनारकी २४ वर्षीया पत्नी अनुषा थापामगर शुक्रबारदेखि हराएकी छन् । उनलाई देख्नेले नजिकको प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरको फोन नम्बर ९८५५०९०१५० मा सम्पर्क गरी सहयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।