नेपाललाई एसिया क्षेत्र “बी”को उपाधि


नेपाल समाचारपत्र
काठमाडौं
नेपालले आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

शुक्रबार उपाधि छिनोफानो हुने खेल वर्षाको कारण रद्द भएपछि नेट रनरेटको आधारमा नेपाल च्याम्पियन बन्यो। मलेसियाको बायुमास ओभल मैदानमा भएको खेलमा सिंगापुरले मात्र ८२ रनको विजयी लक्ष्य तेस्र्याएको थियो। जवाफमा नेपालले पहिलो ओभरमा ३ बल खेलेपछि पानी परेको थियो। पछि खेल हुन सम्भव भएन र नेपालले शून्य दशमलव ३ ओभरमा १ रन बनाउन १ विकेट गुमाएको थियो।

७ राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपाल र सिंगापुरले समान ५/५ खेल जितेका थिए। छैटौं खेल बराबरी भएपछि दुवै टोलीले १÷१ अंक जोडेर समान ११÷११ अंक जोडे। सो प्रतियोगितामा आयोजक मलेसिया, म्यानमार, थाइल्यान्ड, चीन र भुटानलाई दुवै टोलीले हराएका हुन्।

पहिले ब्याटिङ गरेको सिंगापुरले १७ दशमलव ३ ओभरमा अलआउट हुँदै ८१ रन बनायो। नेपालका बलर सन्दीप लामिछानेले ३ दशमलव ३ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए। योसँगै सन्दीपले एकै प्रतियोगितामा २४ विकेट हात पारेका छन्। त्यस्तै सोमपाल कामी र करण केसीले २/२ विकेट लिँदा वसन्त रेग्मी, ललित राजवंशीको खातामा १÷१ विकेट चढेका थिए।

सन्दीपको कीर्तिमान

लेग स्पिनर सन्दीपले नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने बलर बन्दै कीर्तिमान रचेका हुन्। उनले ६ इनिङमा २४ विकेट हासिल गरेका छन्। जसमा उनले ५७ रन मात्रै खर्चेका छन्। विभिन्न प्रिमियर लिगमा खेल्दै विश्व चर्चित बनिसकेका युवा खेलाडीले वसन्त रेग्मी र विनोद दासको कीर्तिमान तोडेका छन्। यसअघि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सर्वाधिक विकेट लिने कीर्तिमान पनि उनकै नाममा रहेको छ। उनले गत वर्षको जुलाईमा भएको यू–१९ विश्वकप छनोटमा ६ खेलमै २४ विकेट लिएर कीर्तिमान राखेका थिए।

वसन्तले सन् २०१२ को डिभिजन ४ अन्तर्गत कुल २१ विकेट लिएर दासको कीर्तिमान बराबरी गरेका थिए। दासले यसअघि सन् २००५ को एसीसी फास्ट ट्र्याक कन्ट्रिज तीन एकदिवसीय प्रतियोगितामा २१ विकेट लिएर एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने कीर्तिमान बनाएका थिए।

मलेसिया पनि छनोट

आयोजक मलेसिया पनि विश्व टी–२० छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ। मलेसियाले ७ अंक जोडेर थाइल्यान्ड (७ अंक) लाई नेट रनरेटमा पछार्दै छनोट हुन सफल भएको छ। नेपाल र सिंगापुर यसअघि नै छनोट भएका थिए। यस प्रतियोगिताबाट शीर्ष ३ टोली छनोट हुने प्रावधान रहेको छ।

क्षेत्रीय चरणमा ६ टोली

एसिया क्षेत्रबाट छनोट भएपछि नेपालले क्षेत्रीय चरणमा खेल्नेछ। हाल आयोजक राष्ट्र घोषणा नभएको उक्त क्षेत्रीय अन्तिम चरणमा ६ टोली रहेका छन्। पूर्वी एसियाबाट नेपाल, सिंगापुर र मलेसिया छनोट भएका छन्। त्यस्तै पश्चिमी एसियाबाट यूएई, कतार र कुवेत छनोट भएर यस चरणमा प्रवेश गरेका छन्। यस समूहबाट शीर्ष दुई टोली छनोट हुनेछन्। जुन छनोट टोलीले विश्व टी–२० क्रिकेट छनोटमा खेल्न पाउनेछन्। त्यसमा छनोट भएमा मात्रै विश्व टी–२० क्रिकेट प्रतियोगितामा खेल्न पाउनेछ।