दर्दनाक दुर्घटनापछि सरिया बोक्ने गाडी नियन्त्रणमा लिन शुरु

0
Shares

नरेन्द्र केसी, दाङ ।
सरिया बोकेको गाडीमा ठोक्किदा दाङको घोराहीमा एक महिला गम्भीर घाइते भएपछि प्रहरीले सरिया बोक्ने गाडी नियन्त्रणमा लिन शुरु गरेको छ ।

प्रहरी र स्थानीय सरकारले पटकपटक सरिया खुला छाडेर आपूर्ति नगर्न निर्देशन दिए पनि ब्यवसायीहरुले लापर्वाही गर्दा केही दिन घोराहीमा दर्दनाक दुर्घटना भएको थियो । दुइ मोटरसाइकल ठोक्किदा पैदल यात्रु महिला तिला परियार उछ्ट्टिएर सरिया बोकेको ट्याक्टरमा ठोक्किदा तीन वटा सरियाले शरीर छेडेका थिए । २५ घण्टापछि सरिया निकालेर घाइते परियारको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

यो घटनापछि प्रहरीले दाङमा सरिया बोक्ने गाडी नियन्त्रणमा लिन शुरु गरेको छ । खुल्ला रुपमा पिकअप तथा ट्रेक्टरले सरिया बोक्दा हुने दुर्घटनाको जोखिमबाट बेलैमा सचेत बन्न समेत प्रहरी व्यवसायीलाई भनेको छ । यो सँगै खुल्ला रुपमा बोकिएका सरियाले ठूलो क्षति पु¥याउने भन्दै त्यसरी खुल्ला रुपमा सरिया बोकेर हिडिरहेको गाडीलाई नियन्त्रणमा लिन थालेको ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीले जिल्ला भरी नै निगरानी बढाएको जनाएको छ ।

यसअघि पटकपटक सहमति भए पनि व्यवसायीले अटेरी गरेकाले पुनः नियन्त्रणमा लिन शुरु गरेको प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । दुइ महिना पहिले घोराहीमा सरिया तथा फलामका पाइपहरु ट्याक्टरले ढुवानी गरिरहेको अबस्थामा प्रहरीले नियन्त्रणमा लिन थालेको थियो । स्थानीय सरकार र ब्यवसायीबीच भएको छलफलमा साझ ५ देखी बिहान ८ बजे सम्म मात्रै बजार क्षेत्रमा सरीया, फलामका पाईप तथा हाडवेयर सम्बन्धी सामानहरु ढुवानी, लोड अनलोड गर्ने सहमति भएको थियो ।

ती सामान बोक्दा पनि सरिया, पाइपलाई बोराले बेरेर मात्रै ढुवानी गर्ने र रातो टालो झुण्ड्याएर खतराको संकेत दिने भनेर वडा नम्बर १४ का अध्यक्ष शक्तिराम डाँगी, १५ का अध्यक्ष रमेशकुमार पाण्डे, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, घोराही हाडवेयर व्यवसायी समितिका अध्यक्ष दामोदर केसी र ट्राफिक प्रमुख मदनबहादुर कुँवरले सहमती पत्रका हस्ताक्षर गरेका थिए ।

 

तर, यो सहमति कार्यान्वायन नभएको र उल्टै दर्दनाक दुर्घटना भएपछि पुनः गाडी नियन्त्रणमा लिन शुरु गरिएको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक मदनबहादुर कुँवरले जानकार िदिनुभयो । निर्णय गर्ने तर कार्यान्वयन नगर्ने स्थितिले समस्या आएको उहाँले बताउनुभयो । निर्णय गर्ने र व्यवसायीहरुलाई जानकारी नगराउने व्यवसायीहरुका कारण जोखिम बढेको प्रहरीको बुझाइ छ । ‘यस्ता दुर्घटना हुन्छन भन्ने मलाई लागेर नै व्यवसायी र स्थानिय सरकारलाई बेलैमा सचेत बनाएको हुँ तर कार्यान्वयन नहुदा यो दुर्घटना भोग्नु प¥यो’– ट्राफिक प्रमुख कुँवरले भन्नुभयो– ‘अब घटना भइसकेपछि पनि यिनीहरुलाई त्यत्तिकै छाड्ने कुरा हुँदैन ।’