किरन धामी, दार्चुला ।
औलो रोग परिक्षण तथा परामर्शका लागी दार्चुलामा हेल्थ डेस्क स्थापना भएको छ । रोजगारीको सिलसिलामा भारत तथा अन्य मुलुक गएका र दार्चुलाको बाटो भएर नेपाल आउने नेपालीहरुमा औलो रोगको परिक्षण तथा परामर्श सेवा उपलब्ध गराउन हेल्थ डेस्क स्थापना गरिएको महाकाली नगरपालिका स्वास्थ्य शाखाका उपसंयोजक लालजिरा भट्टले जानकारी दिए । दार्चुलामा केहि दिन अघि एक वालिकामा औलो रोगको संक्रमण भेट्टीए पछि औलो रोगको परिक्षण तथा परामर्श सेवालाई फराकिलो बनाउदै लगेको उनको भनाई छ ।
खासगरी भारतका विभिन्न सहरबाट आउने नेपालीलाई लक्षित गर्दै हेल्थ डेस्क स्थापना गरिएको उपसंयोजक भट्टले जानकारी दिए । जिल्ला सदरमुकाम खलंगामा रहेको नेपाल भारत जोड्ने झोलुङ्गे पुलछेउमा औलो रोग परिक्षण तथा परामर्शका लागी शुक्रबारबाट हेल्थ डेस्क स्थापना गरि सेवा सुरु गरेको उनले जानकारी दिए । शुक्रबार विहान स्थापना गरिएको डेस्कबाट १६ जनाले सेवा लिएका छन् । भारतबाट नेपाल भित्रिदै गरेका १६ जनाको रगत परिक्षण गरिएकोमा उनिहरुमा औलो रोगको संक्रमण नभेट्टीएको स्वास्थ्य उपसंयोजक भट्टले जानकारी दिए ।
यो सिमा भएर दार्चुला, बैतडी, बझाङ्ग, अछाम, बाजुरा, डोटी, कैलाली र बर्दिया जिल्लाका मानिसहरु नेपाल भित्रिने गरेका छन् । हेल्थ डेस्कमा दुई जना स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् । रगत परिक्षणको क्रममा कुनै व्यक्तीमा औलो रोगको संक्रमण भेट्टीए तुरुन्त औषधी उपचार गर्ने तथा आवश्यक परामर्श दिइने उनले जानकारी दिए । दशै मान्न रोजगारीको सिलसिलामा भारतका विभिन्न सहरहरुमा गएको नेपालीहरु घर आउने भन्दै उनिहरुलाई लक्षित गरि हेल्थ डेस्क स्थापना गरिएको उनले बताए ।











प्रतिक्रिया