बैंकहरुले ब्याजदर घटाए



काठमाडौं, (नेस)
कर्जा लगानीको अनुपातमा निक्षेप संकलन नबढेको स्थितिमा निक्षेप तान्न ब्याजदरमा बैंकहरूको होडबाजी हुन थालेपछि बैंकरहरूबीच ब्याज घटाउने सहमति भएको छ। बिहीबार नेपाल बैंकर एसोसिएनको पहलमा २८ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतको बैठकले निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो।

नयाँ सहमतिअनुसार अब बंैकहरुले व्यक्तिगत बचत खातामा ५ प्रतिशत तथा व्यक्तिगत मुद्दती खातामा १० प्रतिशत र संस्थागत मुद्दती खातामा ९ प्रतिशतसम्म ब्याज दिने भएका छन्। सहमति शुक्रबारदेखि लागू हुने बताइएको छ। एसोसिएसनको बैठकमा सहमति भए पनि कार्यान्वयन गर्ने विषयमा बैंकहरुले धाँधली गर्दै आएका छन्।

नेपाल बैंकर्स संघको पछिल्लो तथ्यांकअनुसार असोज पहिलो सातासम्म बैंकहरूमा निक्षेप संकलन २५ खर्ब १२ अर्ब तथा कर्जा लगानी २१ खर्ब ८९ अर्ब रुपियाँ रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप यस चालू आर्थिक वर्षको पहिलो महिनामा शून्य दशमलव ४ प्रतिशतले घटेको छ। चालू आर्थिक वर्षको असोज दोस्रा सातासम्म ६५ अर्ब निक्षेप संकलन गरी ९३ अर्ब रुपियाँ ऋण लगानी गरेका छन्। बैंकहरुमा निक्षेपका अनुपातमा कर्जा लगानी बढ्दै गएको छ। जसको परिणाम स्वरूप बैंकहरूको कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) ७६ प्रतिशतको हाराहारीमै रहेको बताइएको छ।

बैंकहरूले सीसीडी रेसियोको ८० प्रतिशतसम्म लगानी गर्न पाउँछन्। वार्षिक बिन्दुगत आधारमा साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १७ दशमलव ३ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ। साउनमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७ दशमलव ८ प्रतिशत, ३४ दशमलव ५ प्रतिशत र ४६ दशमलव ४ प्रतिशत रहेको छ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ७ दशमलव ८ प्रतिशत, ३५ दशमलव ३ प्रतिशत र ४३ दशमलव २ प्रतिशत रहेको थियो।

साउनमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपकर्ताको निक्षेप ४४ दशमलव ५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा चालू आवको पहिलो महिनामा कर्जा शून्य दशमलव ७ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्