काठमाडौँ ।
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले विजया दशमीको शुभकामना आदान प्रदान कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै संविधान विरोधी विखण्डनबाधी तत्वलाई पराजित गर्न नेपाली सेना सक्षम रहेको बताउनुभएको छ । उहाँले आफूले प्रधानसेनातिको कार्यभार सम्हालेपछि आफ्नो समय व्यवस्थापनको असमर्थतामा कारण व्यक्तिगत तथा संस्थागत रुपमा भएको भेटघाट तथा अन्तवार्ताको अनुरोध आफूले पुरा गर्न नसकेको भन्दै क्षमायाचना गर्नुभयो ।
उहाँले नेपाली सेनाको बृहत्तर संस्थागत हित, व्यावसायिक क्षमता अभिबृद्धि र सांगठनिक सुदृढिकरणका निमित्त राष्ट्रिय सुरक्षाको पहरेदार संस्थाका रुपमा नेपाली सेनालाई विकसित गर्दै लैजाने लक्ष्य रहेको बताउनुभयो ।
उहाँले प्रधान सेनापतिको कार्यभार सम्हालेकै दिन सकल दर्जाका लागि प्रधान सेनापतिको कमाण्ड मार्गनिर्देशन २०७५ जारी गरी सरकारका नीति कार्यक्रम र निर्देशनहरु समेत समावेश गरिएको बताउनुभयो ।
लौह अनुशासन, बलियो गरेर सिक्ने, राजनीति निरपेक्ष चरित्र, राष्ट्रिय एकताको भावना र अविच्छिन्न साङ्गठनिक लक्ष्यहरुद्धारा निर्देशित गर्दै नेपाली सेनालाई राष्ट्रिय एकता र आस्थाको आधार बनाउंदै लैजाने लक्ष्य लिएको उहाँले बताउनुभयो ।
मूलतः उहाँले आफ्नो कार्यकालका लागि सात वटा साङ्गठनिक लक्ष्य तथा १५१ कार्यहरु निर्धारण गरेको तथा यी लक्ष्यहरु नितान्त आन्तरिक प्रयोजनका लागि निर्धारण गरिएकाले आफू त्यस भित्र प्रवेश गर्न नचाहेको बताउनुभयो ।
उहाँले लँडाई लड्ने क्षमता अभिबृद्धि गर्नका लागि नेपाली सेनामा सेवागत विशिष्टिकरणको अवधारणा लागू गर्न लागिएको तथा जुनियर तहको नेतृत्वलाई थप सक्षम, जिम्मेवार र जवाफदेही बनाई एकत्वपन हासिल गर्ने बिशेष योजनाहरु ल्याइएको बताउनुभयो ।
सङ्गठनको सञ्चालनलाई वैज्ञानिक बनाउंदै नेपाली सेनालाई गतिशील संस्थाको रुपमा विकास गर्नका लागि दीर्घकालीन साङ्गठनिक हितका विषयहरुमा सैनिक मर्यादाभित्र रहि खुला छलफलमा आधारित योजना र निर्णय गर्ने प्रणाली आरम्भ गरिसकिएको र सङ्गठनमा सकारात्मक वातावरण सिर्जना गर्नका लागि पुरस्कार र दण्डसजायलाई महत्वपूर्ण संयन्त्रका रुपमा उपयोग गर्न निर्देशन दिई सकल दर्जाको गुनासोहरु सङ्गठनभित्रैबाट सम्बोधन गर्नका लागि विभिन्न विकल्पहरु तय गरिएकाले असंगत समाचारलाई स्थान नदिन मिडियाकर्मीलाई आग्रह गर्नुभयो ।
नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय एकताको रक्षा गर्ने लगायतका राष्ट्रनिर्माण र विपद् व्यवस्थापन एवं संविधानसम्मत जिम्मेवारीहरु नेपाली सेनाले वहन गर्दै आएको र भविष्यमा पनि विश्वसनीय ढङ्गबाट वहन गर्ने बताउनुभयो ।
उहाँले भनसुन, आफन्तवाद र निकटता हाम्रो समाजको उपज नहुनु पर्ने हो, तर नेपाली सेना यसबाट केहि हदसम्म प्रभावित भएको होला भन्ने कुरा नकार्न सकिन्न, तर यसले संगठनलाई गतिशील हुनबाट रोक्ने, व्यक्तिगत स्वार्थहरु हावी हुने तथा संस्थागत हितका विषयहरु ओझेलमा पर्दै जाने बारेमा आफू सचेत रहेको बताउनुभयो ।











प्रतिक्रिया