हेटौंडा ।
मकवानपुरका पत्रकार एवम् लेखक रामजी बलामीको दोस्रो पुस्तक ‘टिष्टुङ चिनारी’ विमोचन गरिएको छ ।
प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेल, प्रत्यायोजन तथा सरकारी आश्वासन समिति सभापति रामनारायण बिडारी, प्रतिनिधिसभा सांसद् विरोध खतिवडा, थाहानगर मेयर लवशेर बिष्ट, थाहा–६ का वडाध्यक्ष शशिधर सुवेदी, टिष्टुङ महोत्सव मूल समारोह समिति संयोजक इन्द्रबहादुर श्रेष्ठलगायतले पुस्तक विमोचन गरेका हुन् ।
पुस्तकमा उत्तरी मकवानपुरको थाहानगरस्थित ऐतिहासिक बस्ती टिष्टुङको गोपालवंशदेखि गणतन्त्रसम्मका विषयवस्तु समावेश छन् । नाम हराएको ठाउँ टिष्टुङका बारेमा वास्तविक जानकारी प्राप्त गर्न पुस्तक उपयोगी हुने बताइएको छ ।
पुस्तकमा ठाउँको नाम कसरी टिष्टुङ हुन पुग्यो, कसरी बज्रबाराही हुन पुग्यो र हाल कसरी थाहानगरपालिकामा गाभियो भन्ने कुरा उल्लेख छ । पुस्तकमा टिष्टुङको भौगोलिक बनावट, हावापानी, बनजंगल, जीवजन्तुलगायत विषयहरु पनि समावेश छन् । पुस्तकमा त्यहाँका ३ वटा लिच्छविकालीन शीलालेखबारे विस्तृत व्यहोरा उल्लेख छ । टिष्टुङका अन्य शीलापत्रहरु र कुन्छाल, टौखेल, कलाँटु, चित्लाङलगायत ठाउँमा रहेका शीलालेख, लालमोहर र ताडपत्रबारे समेत पुस्तकमा पढ्न पाइन्छ ।
वस्ती विकास र हालको सामाजिक संरचनालाई पनि पुस्तकमा समावेश गरिएको छ । त्यहाँ बसोबास गर्ने समुदाय, उनीहरुको भाषा, धर्म र सँस्कृतिलाई पनि पुस्तकले प्रस्तुत गरेको छ । त्यस क्षेत्रमा भएका सानाठूला धार्मिकस्थलबारे पनि पुस्तकमा उल्लेख छ । पुस्तकमा क्षेत्रका प्रमख धार्मिकस्थल बज्रबाराही माई र तीन वर्षे बज्रबाराही जात्राबारेमा जानकारी समावेश छ ।
टिष्टुङलाई भित्रदेखि चिन्न चाहनेहरुका लागि पुस्तक उपयोगी छ । पुस्तकमा इतिहासदेखि वर्तमानसम्म आइपुग्दा टिष्टुङमा भएका परिवर्तनलाई समावेश गरिएको छ ।











प्रतिक्रिया