पुल बन्यो सडक बन्न सकेन


नेपाल समाचारपत्र, पर्वत
कुश्मा नगरपालिका २ छमर्केको घुम्ती–लाम्पाटा हुँदै दम्भाखोला जोड्ने सडकमा पर्ने रिठे खोलामा पक्की पुल बनिसक्यो तर त्यही सडक कालोपत्रे सम्झौता भएको तीन वर्षसम्म पूरा भएको छैन  ।

बजेट अभाब देखाउँदै सडक कालोपत्रे गर्ने गर्ने कार्य बिचमै अलपत्र परेको हो । २२ किलोमिटर सडकको बीचमा पर्ने २० मिटर लम्बाइको रिठेखोला पुल सम्झौता मितिअघि नै बनिसकेको छ । तर, सडक भने अझै कालोपत्रे हुन बाँकी छ ।

पोखरा–बेनी हुँदै मुक्तिनाथ जाने सडकको वैकल्पिक मार्गका रूपमा डबल लेनको हुनेगरी यो सडक कालोपत्रे गर्न २०७२ फागुनमा सम्झौता भएको थियो । घुम्तीदेखि हिमालय मावि हुँदै पाङ पुगेर उक्त सडक जलजला गाउँपालिका ८ को दम्भाखोलामा जोड्ने योजना छ । योजनाअनुसार तयार भए पोखरा–मालढुंगा–बेनी सडकको यो विकल्प हुनेछ ।

डबल लेनको बनाउने स्टिमेट सडक डिभिजन कार्यालयले गरेको छ । २२ किलोमिटर सडक १२ मिटर चौडा, कालोपत्रे, ३र३ मिटर सेडब्याक र दुईतर्फी नालीको स्टिमेट भएको सडक डिभिजनले जनाएको छ । कुश्मा २ खुर्कोटको रिठेखोलामा पक्की पुल, अन्य ससाना खोल्साहरूमा कल्भर्टसहितको योजना हो । रिठेखोला पुलबाहेक अरू काम सुरु नै भएको छैन ।

बहुवर्षे ठेक्का स्वीकृत भएको उक्त योजना बागलुङस्थित सडक डिभिजन कार्यालयले सम्झौता गरेका निर्माण व्यवसायी काम छाडेर भागेपछि काम रोकिएको हो । कालोपत्रे सुरु भएको केही समयमै तत्कालीन ठेकेदार डीबी तामाङले काम छाडेर सम्पर्क्विहीन भएपछि एक वर्षमै सडकको काम रोकिएको हो ।

व्यवसायीलाई सम्पर्कमा ल्याएर काम अघि बढाउन डिभिजन कार्यालयले चासो नदिँदा समस्या भएको स्थानीयको गुनासो छ । ‘सडक खन्दा बारी बेचेर चन्दा हालियो,’ खुर्कोटका लक्ष्मण क्षत्रीले भने, ‘अहिले भएको सडक पनि भत्काएर बिजोग छ । सडक डिभिजनकै लापरबाहीले यस्तो भएको हो ।’ स्थानीय भगवती पौडेलले सडकमा पहिरोले ठूल्ठूला ढुंगा थुप्रिएपछि पैदल हिँड्नसमेत समस्या भएको बताइन् ।

कांग्रेस केन्द्रीय सदस्य एवं तत्कालीन संविधानसभा सदस्य अर्जुन जोशीले उक्त सडकका लागि बहुवर्षे ठेक्का स्वीकृत गराएर उतिबेलै ११ करोड बजेट विनियोजन भएको बताए । ‘कुश्मा–बेनीको वैकल्पिक सडक बनाउनेगरी बजेट निकासा भएको थियो,’ उनले भने, ‘एक वर्षसम्म काम भएकै थियो । पछि हामीले फलो गर्न पाइएन । काम बीचमै रोकियो ।’

मुक्तिनाथ जाने यात्रीको सहजका लागि वैकल्पिक सडकमा हालेर फराकिलो बनाउनेगरी योजना बनाइएको उनले बताए । २२ किमि कालोपत्रे गर्न ५९ करोडको स्टिमेट भएकोमा पहिलो वर्ष ११ करोड बजेट छुट्टिएको जोशीले बताए । गत वर्ष सडक विभागबाट ४८ करोड बजेट यो सडकका लागि विनियोजन भएको भए पनि सरकारले प्रदेशको प्राथमिकतामा राख्दै बजेट रोकेको सरोकारवालाको आरोप छ ।