काठमाडौँ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पर्यटन एनेको संशोधन गर्न प्रक्रिया अगाडि बढाएको बताउनु भएको छ । प्यासिफिक एसिया ट्राभल एसोशियसन (पाटा) नेपाल च्याप्टरको ४२ औं साधारण सभालाई सम्बोधन गर्दै मन्त्री अधिकारीले समय परिस्थिती अनुसार पर्यटन ऐन संशोधन गदै जानुपर्ने भएकाले गर्दा मन्त्रालयले संशोधनको तयारी गरेको बताउनु भयो । पर्यटन ऐन ९० प्रतिशत संशोधन गर्नुपर्ने समेत उहाँले बताउनु भयो ।
मन्त्री अधिकारीले पाटा नेपाल च्याप्टरद्वारा सफलतापूर्वक आयोजित हिमालयन ट्राभल मार्टले नेपालको पर्यटन प्रवद्र्धन गर्नका लागि ठूलो भूमिका खेलेको र मार्टको निरन्तरताका लागि आगामी दिनमा सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताउनू भयो । साथै मन्त्री अधिकारीले मार्टले नेपालको पर्यटन प्रवद्र्धन तथा पर्यटक आगमन वृद्धिमा उल्लेख्य भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको २२ घण्टा सञ्चालन तथा विभिन्न निकायबाट गरिएका सकारात्मक प्रयासहरुको फलस्वरुप पर्यटक आगमन वृद्धि उत्साहजनक रहेको बताउनुभयो ।

मन्त्री अधिकारीले भन्नुभयो – ‘पर्यटन क्षेत्रमा अहिले धेरै सकारात्मक कार्यहरु भइरहेको अवस्थामा पनि केही मानिसहरुमा अझै निराशा र नकारात्मक टिप्पणी हुनु दुःखद हो । सरकारले पर्यटनमार्फत मुलुकको समृद्धि अघि बढाउने कार्यमा अग्रसर रहेको अवस्थामा सबै निजी क्षेत्रका सरोकारवालाहरु एकताबद्ध भई काम गर्न आवश्यक छ ।’ उहाँले पर्यटनमा निजी क्षेत्रको भूमिका अतुलनीय एवम् महत्वपूर्ण रहेको कुरामा जोड दिदैँ निजी क्षेत्रले सयम–समयमा राज्यलाई सुझाव तथा मार्ग दर्शन गराउनु आवश्यक रहनेसमेत बताउनुभयो ।
पाटा नेपाल च्याप्टरका अध्यक्ष सुनील शाक्यले राष्ट्रिय ध्वजावाहकको सुदृढिकरण, नयाँ एयर करिडोरको शुरुवात, आवश्यक पूर्वाधारको निर्माणसँगै नेपाललाई माइस डेस्टिनेसनको रुपमा स्थापित गर्न इन्टरनेश्नल कन्भेन्सन सेन्टरको तत्काल आवश्यकता रहेको औंल्याउनुभयो ।

उहाँले पाटा एडभेन्चर ट्राभल मार्ट सन् १९८९ मा नेपालबाट शुरु भई ६ पटक नेपालमै आयोजना भइसकेको पृष्टभूमि उल्लेख गर्दै नेपाल भ्रमण वर्ष २०२० मनाइरहँदा उक्त मार्ट पुनः नेपालमा आयोजना हुनसके उक्त मार्टले पर्यटन उद्योगका लागि पर्यटन तथा व्यवसाय प्रवद्र्धन तथा राज्यको २० लाख पर्यटक भित्र्याउने योजनालाई सार्थक तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने बताउनुभयो, सरकार तथा नेपाल पर्यटन बोर्डलाई सो मार्ट पुनः नेपालमा आयोजना गर्न आह्वान गर्नुभयो ।
४२ औं साधारण सभाले आगामी आर्थिक वर्षमा अन्तर्राष्ट्रिय मार्ट तथा सेल्स मिसन, तेस्रो हिमालयन ट्राभल मार्ट २०१९, मानव संशोधन विकास सम्बन्धी तालिमहरु, पर्यटन सम्बन्धी अनुसन्धान–स्रोत पहिचान, प्रडक्ट डेभलपमेन्ट, मिडिया तथा ब्लगर्सहरुको परिचयात्मक भ्रमण तथा डेस्टिनेसन इमेज विल्डिङ्ग अभियानलगायतका कार्यक्रमहरु गर्ने निर्णय गरेको पाटाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशसिंह बुडालले जानकारी दिनुभयो ।

पाटाले पहिलो पटक पाटा नेपाल च्याप्टर अवार्ड फर लाईफटाइम अचिभमेन्टको शुरुवात गर्दै नेपाली पर्यटनमा अतुलनीय योगदान पु¥याउनु भएका अग्रज पर्यटन व्यवसायी तथा पाटा नेपालका संस्थापक अध्यक्ष प्रभाकर शमशेर राणालाई प्रदन गरियो । उहाँले नेपालमा गुणस्तरीय पर्यटन पवद्र्धन तथा पर्यटन सेवाको विविध क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर तथा सम्मान गर्दै उक्त अवार्ड पदान गरिएको थियो । होटल एसोसिएसन अफ नेपाल, सोल्टी क्राउन प्लाजा तथा नेपाल हेरिटेज सोसाइटीका समेत संस्थापक अध्यक्ष रहनुभएका राणा पर्यटन, ऊर्जा, अटोमोबाइल क्षेत्रमा एक अगज तथा उद्यमशील व्यक्तित्वको रुपमा चिरपरिचित हुनुहुन्छ ।
पाटा पर्सनालिटी अफ द इयर २०१८ ः नेपाली पर्यटन क्षेत्रको प्रवद्र्धनमा उल्लेख्य योगदान, सराहनीय भूमिकाको कदर गर्दै नेपाल वायु सेवा निगममा महाप्रवन्धक सुगतरत्न कंसाकारलाई पाटा पर्सनालिटी अफ द इयर २०१८ अवार्ड प्रदान गरिएको छ ।

बेस्ट स्टुडेन्ट च्याप्टर अफ द इयर, पाटाले आफ्ना सदस्य शैक्षिक संस्थाहरुमध्ये पाटा नेपाल स्टुडेन्ट च्याप्टरको उद्देश्य र भावना अनुरुप उत्कृष्ठ कृयाकलापहरु गरेकोमा प्रशंसा गर्दै नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम) लाई वेष्ट स्टुडेन्ट च्याप्टर अफ द इयर अवार्ड प्रदान गरेको छ ।

पर्यटनमा डिजिटल रुपान्तरणको आवश्यकतालाई मध्यनजर गर्दै पाटा नेपालले डिजिटल मार्केटिङ विज्ञ तथा मेकोङ टुरिजम कोडिनेटिङ अफिसका कार्यकारी निर्देशक जेन्स थरेनहर्टलाई साधारण सभाको प्रमुख वक्ताको रुपमा प्रस्तुतुत हुनु भएको थियो । आमन्त्रित वक्ता जेन्स डिजिटल रुपान्तरण तथा यसले पर्यटन क्षेत्रमा ल्याउन सक्ने असीम परिर्वतनलाई प्रभावकारी रुपमा कार्यन्वयन गराउन सफल विज्ञ व्यक्तित्वको रुपमा चिनिन्छन । साधारण सभामा इन्टरनेन्सल चाइना इन्भेस्टमेन्ट फोरमका अध्यक्ष डा. मार्कस ली लाई समेत ‘गेस्ट अफ अनर’ को रुपमा आमन्त्रित थियो । उहाँले चिनीयाँ पर्यटकलाई कसरी आकर्षित गर्न सकिन्छ भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।











प्रतिक्रिया