मासु पसल अनुगमन पछि सरसफाईको निर्देशन

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।
दशैको मुखमा उपभोक्ताहरुलाई गुणस्तर सामाग्री उपलब्ध गराउने उदेश्यले बजार अनुगमनलाई तिब्र बनाईएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला पशु सेवा कार्यालय तथा स्थानीय सरकारका प्रतिनिधिहरुले बजार अनुगमनलाई तिब्रता दिएका हुन् ।

मंगलबार विहान झिसमिसेमै बनेपाका मासु पसलहरुको अनुगमन गरिएको थियो । राँगाको मासु विक्री गर्ने पसलहरुको ब्यवसाय दर्ता भए पनि नविकरण नभएको, बधशाला नभएको, बध गरिएको स्थान फोहोर भएको, घना बस्तिको बीचमा पशु बध गरिएको फेला परेकाले नगरपालिकासँग समन्वय गरी बधशाला सुधार्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । बनेपामा रहेका राँगाको मासु उत्पादन गर्ने ८ वटा पसलमा अनुगमन गरिएको जिल्ला भेटेरिनरी अस्पतालका प्रमुख डा. नारायणबहादुर श्रेष्ठले जानकारी दिए ।


त्यस्तै बनेपामा रहेका खशी र कुखुराको मासु विक्री गर्ने पसलहरुको अनुगमन गरिएको थियो । त्यस्तै मासु र मदिरा विक्री गर्ने पसलको पनि अनुगमन गरिएको थियो । माछा पसलहरुको समेत अनुगमन गरि ब्यवसाय दर्ता तथा नविकरण गर्न निर्देशन दिएको छ । मुल्य सुची समेत उपलब्ध नगराई उपभोक्ताहरुलाई मनलाग्दी मुल्य लिएको भन्दै बनेपाका माछा पसलहरुलाई तत्काल कानुनी दायरामा आउन निर्देशन दिएको छ । यस अघि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले चाडबाडको समय पारी बजारमा हुने अनियमितता रोक्न तथा उपभोक्ता ठगिनबाट बचाउन बजार अनुगमन गरेको थियो ।


बजार अनुगमनमा खाद्यान पसल देखि मासु पसलसम्म अनुगमन गरिएको छ । खाद्यान्न उत्पादन गर्ने उद्योगहरु समेत अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । बजारमा दुग्ध डेरी, खाद्यान्न, बेकरी उद्योग, मासु पसल समेत गरी ४० वटा पसलमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा भेटिएको कैफियत हटाउन समय दिएको र समयवाधी भित्र नहटाए कारवाही गर्ने पत्र दिएको सहायक प्रजिअ थापाले बताए ।

अनुगमनमा बनेपा नगरपालिका बरिष्ठ राजश्व अधिकृत धु्र्रर्वराज नेपाल, जिल्ला घरेलु कार्यालयका प्रमुख माधव गौतम, विभिन्न कार्यालका प्रतिनिधिहरु सहभागि थिए ।