लापरवाहीको पराकाण्ठा, पाइपले थिचेर बालकको मृत्यु

0
Shares

कृष्णउदास खनाल, वीरगन्ज ।
निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनको लापरवाहीका कारण वीरगन्जमा एक बालकको मृत्यु भएको छ भने अन्य तीन बालिका गम्भिर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि रहेको लालबंगला दरबारको खाली जग्गामा कालिका कन्स्ट्रक्सन प्रालिले चाङ लगाएर महिनौ दिनदेखि थुपारेको ह्युम पाइपले च्यापिएर वीरगन्ज–९ रानीघाटका चारजना बालबालिका गम्भीर घाइते भएकोमा एकको ज्यान गएको हो ।घाइते भएका चारजना बालबालिकामध्ये बालमुकुन्द राउत चौधरीका छोरा वर्ष आठका रोहित चौधरीको मृत्यु भएको हो । वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा रोहितको सोमबार राति मृत्यु भएको पर्साका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए ।

घटनामा जीराभवानी गाउँपालिका–१ स्थायी घर भइ हाल वीरगन्ज–९ रानीघाटमा बस्दै आएका गोविन्द चौधरीका छोरी १० वर्षीया अनुष्का चौधरी र सात वर्षकी अंकिता चौधरी घाइते भएका छन् भने वीरगन्ज–९ रानीघाटका राकेश यादवकी छोरी नौ वर्षीया आयुषा यादव पनि घाइते भएकी छन् । १० वर्षकी अनुष्का चौधरी र सात वर्षकी अंकीता चौधरीको वीरगन्जमा उपचार सम्भ्व नभएपछि थप उपचारका लागि दुवै दिदीबहिनीलाई मंगलबार एम्बुलेन्सबाट काठमाडौँ पठाइएको छ । आयुषा यादवको वीरगन्ज हेल्थ केयर अस्पालमै उपचार जारी छ । वीरगन्ज महानगरमा भूमिगत ढल र नाला निर्माणका लागि ठेक्का सकारेको कालिका कन्स्ट्रक्सनले लालबंगला परिसरमा तीन महिनादेखि एक हजार भन्दा बढी सिमेन्टेड ह्युम पाइप चाङ लगाएर राखेको थियो ।

महानगरमा भूमिगत ढल नाला निर्माणको ठेक्का लिएको कालिकाले काम सुरु गर्नु भन्दा महिनौ दिन पहिले लाल दरबारमा हजारौंको संख्यामा ह्युम पाइप थुपारेर व्यवस्थापनमा लापरवाही गरेकाले दुर्घटना भएको स्थानीयहरुले बताए । पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले भने लालबंगला दरबार परिसरमा कसले ह्युम पाइप थुपारेर राखेको हो भन्ने विषयमा आफुलाई औपचारिक रुपमा जानकारी नगराइएको बताए ।