पत्रकारविरुद्ध खनिए मुख्यमन्त्री राई

0
Shares

सरोज यादव, विराटनगर ।
१ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी र नामको विषयमा जथाभावि लेखेको भन्दै संचारकर्मीमाथि संसदको रोष्टमबाटै गाली गलौज गरेका छन । मुख्यमन्त्रीले सपनामा देखेर प्रदेश सरकारलाई संचारकर्मीले स्तरहिन टिका टिप्पणी र कलम चलाएको भन्दै दुःख व्यक्त गरे ।

उनले सके सरकारले गरेको कामको सकारात्मक कलम चलाउन र नसके स्तरहिन टिकाटिप्पणी नगर्न पनि संचारकर्मीलाई आग्रह गरे । वर्षे अधिवेशनको अन्त्यका लागि १ नम्बर प्रदेशसभा संसदलाई सम्बोधन गर्दै मुख्यमन्त्री शेरधन राईले संचारकर्मीले मिडियाको दुरुपयोग गरेर न्यूनतम व्यवसायीक मर्यादा पनि नराखेको भन्दै आक्रोश व्यक्त गरेका हुन । उनले संचारकर्मीले प्रदेशसभा सांसदहरुको मानमर्दन गरेको अस्वस्थ र नीच स्तरका अभिव्यक्ति र विचार सम्प्रेषण गरेको आरोप पनि लगाए ।

९३ जना सांसदहरु प्रदेशसभाको राजधानी र नामाकरण गर्न अख्तियार प्राप्त भएको भन्दै उनले स्थायी राजधानी र नामको विषयमा कसैलाई पनि पजनी गर्ने अधिकार नभएको पनि बताए । मुख्यमन्त्री राईले आफूहरु त्यतिकै नआएको भन्दै धम्कीपूर्ण भाषा पनि उल्लेख गर्नुभयो । के ठानीरहेको छ प्रदेशसभा र मानीय सांसदहरुलाई, हामी त्यतिकै आएका होइनौं भन्दै मुख्यमन्त्रीले कलम चलाउँदा अलिकति विचार गरेर र मर्यादालाई ख्याल गर्न पटक–पटक संचारकर्मीलाई आग्रह गरे ।

मुख्यमन्त्री राईले प्रदेशसभाको यही अधिवेशनबाट आफूहरुले प्रदेशको नाम र राजधानीको टुंगो लगाउने तयारी गरेको भएपनि सभामुख र दलहरुसँगको छलफल पछि यो विषयलाई रोकिएको पनि बताए । उनले सकेसम्म उच्चतम सहमतिको आधारमा प्रदेशसभाको तेस्रो अधिवेशनबाट नाम र राजधानीको टुंगो लगाउने पनि बताए ।

४० मिनेटको सम्बोधनमा मुख्यमन्त्री राईले त्यसमध्ये आधा समय पत्रकार तथा संचारकर्मीका विरुद्धमा बोलेका थिए । तर, पत्रकारले कुन समाचार र कस्ता समाचार हल्का भए र स्तरहिन भयो भन्ने विषयमा भने केही बोलेनन । प्रदेशसभाको रोष्टममा उभिएर मुख्यमन्त्रीले संचारकर्मीलाई गाली गरेको विषयमा केही सांसदहरुले भने माफी मागेका थिए ।