औलोका बिरामी घटे


विनोदसिंह विष्ट, बैतडी
सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा पछिल्लो समय औलोका बिरामी घट्दै गएका छन् ।

औलो प्रभावित तल्लोस्वराडको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विभिन्न वडामा देखिएको औलो पछिल्लो समयमा कम हुँदै गएको केशरपुर प्राथमिक स्वास्थ्यकेन्द्र मेलौलीका हेल्थ असिष्टेन्ट मुकेश दयालले जानकारी दिनुभयो ।

आर्थिक बर्ष २०७३ ÷७४ मा तल्लोस्वराडमा ६१ जना औलोका बिरामी फेला परेका थिए भने गत आर्थिक बर्षमा २५ जनामा औलो रोग देखिएको थियो । चालु आर्थिक बर्षका तीन महिनाको अवधिमा ११ जना औलोका बिरामी फेला परेका छन् ।

जिल्ला स्वासथ्य कार्यालयले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरेकाले औलोका बिरामी घट्दै गएका जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिष्टेन्ट सन्तोष पाण्डेयले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“ गाउँमै गएर औलोको पहिचान र उपचार गर्नथालेपछि औलो रोग कम हुँदै गएको छ”

औलो प्रभावित क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालयले सेभ द चिल्ड्रेनको सहयोगमा औलो प्रभावित क्षेत्रमा औषधि स्प्रे, गर्भवती महिलाहरुलाई झुल वितरण कार्यक्रम समेत गरेको छ । सरकारले सन् २०२५ भित्र औलो रोग उन्मूलन गर्नेलक्ष्य लिएकाले सोही अनुसारका कार्यक्रम सञ्चालन भईरहेको छ ।

रोगको पहिचान तथा उपचार कार्यक्रम शुरु
औलो प्रभावित बैतडीको तल्लोस्वराडमा औलो रोगको पहिचान तथा उपचार कार्यक्रम शुरु भएको छ । शिवनाथ गाउँपालिका वडा नं १ र ३ मा औलो रोगको पहिचान तथा उपचार कार्यक्रम शुरु भएको हो । यो भन्दा पहिला पनि सो ठाउँमा औलोको बिरामीहरु फेला परेकाले पछिल्लो अवस्थाका बारेमा जानकारी लिनका लागि पहिचान तथा उपचार कार्यक्रम शुरु गरिएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीका हेल्थ असिष्टेन्ट मुकेश दयालले जानकारी दिनुभयो ।

जिल्लाको तल्लोस्वराड क्षेत्रका मेलौली, शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका केही वडामा औलोको बिरामी भेटिएकाले घरघरमै गएर औलोको पहिचान तथा उपचार कार्यक्रम शुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिष्टेन्ट सन्तोष पाण्डेयले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“घरघरमै गएर रगत परीक्षण गरी औलो भएको नभएको बारेमा जानकारी लिने गरिएको छ ”

सेभ द चिल्ड्रेनको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयले गत बर्षदेखि नै तल्लोसोराड क्षेत्रमा औलोको पहिचान तथा उपचार सेवा सञ्चालन गर्दै आएको छ । एनोफिलिस नामको पोथी लामखुट्टको टोकाइबाट औलोरोग सर्ने भएकाले यसको रोकथामका लागि वातावरणीय सरसफाई ध्यान दिनुपर्ने, सुत्दाखेरी झुल लगाएर सुत्नु पर्ने लगायतका सुझावहरु स्वास्थ्यकर्मीले दिएका छन् ।

औलो प्रभावित क्षेत्रका गर्भवती महिलाहरुलाई झुल वितरण गर्ने कार्यक्रम समेत संगसंगै चलिरहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । नेपाल सरकारले सन् २०२५ भित्र नेपालबाट औलो उन्मूलन गर्ने लक्ष्य रहेको छ ।