फोहोर पानी प्रशोधन केन्द्र निर्माण दशैँपछि


सुरेश तामाङ, काठमाडौं ।
बाग्मती, विष्णुमती, धोविखोला, मनोहरा, नख्खु देशको केन्द्रीय राजधानी अन्तर्गतका मुख्य नदी तथा खोलानाला हुन् । यी नदी तथा खोलानालाको नाम लिने बित्तिकै स्वच्छ पानी सलल बगेको याद आउँछ । तर यहाँका यी नदी तथा खोलानालाको कथा भिन्नै छ ।

नदी छेउ पुगेर पानीसँग खेल्ने, रमाउनेको कुरै छोडौं, छेउसम्म पर्ने आँट गर्दैनन् जोकोही पनि । नदी तथा खोलामा बढेको प्रदुषणकै कारण यस्तो दुष्परिणाम भोग्नु परेको हो ।

नदी तथा खोला छेउमै सडकको बैकल्पिक व्यवस्था गरे पनि राजधानीबासी डुङ डुङ्ती गनाउने गन्धलाई बेवास्ता गर्दै यात्रा गर्न बाध्य छन् । बढ्दो शहरीकरणसँगैको चापले यी नदी तथा खोलानालाको हविगत यस्तो बनेको जानकारहरु बताउँछन् । घर, कार्यालय, होटल, कलकारखाना लगायतबाट निस्केका अप्रशोधित फोहोर पानीयुक्त ढल सिधै यी नदी तथा खोलानाला मिसाउनु यसको मुख्य कारण हो ।

यसैलाई मध्यनजर गर्दै मेलम्ची आयोजनाको आयोजना कार्यान्वयन निर्देशनालयले त्यही फोहोर अप्रशोधित पानीलाई सिधै नदी तथा खोला नालामा नमिसाई पानी प्रशोधन केन्द्रमा प्रशोधन गरेपछि मात्रै नदी तथा खोलानालामा छोड्ने व्यवस्था मिलाउन लागेको छ ।

यसकालागि निर्देशनालयले उपत्यकाको तीन स्थानमा पानी प्रशोधन केन्द्र निर्माण गर्न काम समेत थालिसकेको छ । भक्तपुरको सल्लाघारी, कोड्कु र धोविघाटमा फोहार पानी प्रशोधन केन्द्र निर्माण गर्न लागिएको निर्देशनालयका प्रवक्ता दिवाकर ढकालले बताउनुभयो ।

‘फोहोर पानी प्रशोधन गर्दै नदी तथा खोलामा मिसाउने तयारीका साथ प्रशोधन केन्द्र निर्माण हुँदैछ,’ उहाँले भन्नुभयो–‘ठेक्कापट्टा भएर पनि ठेकेदार पक्ष काममा लागिसकेको छ ।’

उहाँका अनुसार तीन स्थानमा फोहोर पानी प्रशोधन केन्द्र बनाउन चिनिया कम्पनी सांघाई सफबोन वाटर सर्भिसलाई ठेक्का दिईसकेको छ । कम्पनीले दशैं लगत्तै निर्माणको काम थाल्ने निर्देशनालयका प्रवक्ता ढकालले बताउनुभयो । निर्माण थालेको २ वर्षभित्र काम सम्पन्न गर्ने योजना रहेको उहाँको दाबी छ । मेलम्चीबाट पानीको आपुर्ति भएसँगै फोहोर पानीको मात्रामा हुने बृद्धिलाई ध्यानमा राख्दै फोहोर पानी प्रशोधन केन्द्र निर्माणको काम थालेको हो ।

फोहोर प्रशोधन केन्द्रको निर्माण मार्फत नागरिकले ढलको गन्धबाट मुक्त हुन पाउने, स्वच्छ बातावरणको प्रत्याभुति गर्न पाउने, फोहोरबाट हुने रोगको दर कम हुने लगायतका फाइदाहरु लिन पाउने प्रवक्ता ढकालले दाबी गर्नुभयो ।

गुहेश्वरीस्थित फोहोर प्रशोधन केन्द्रलाई थप अभिबृद्धि गर्दै भक्तपुरस्थित सल्लाघारी, ललितपुरको बालकुमारीस्थित कोड्कु र धोवीघाटमा नयाँ र आधुनिक केन्द्रको रुपमा निर्माण गरी उपत्यकालाई सफा, सुन्दर र गन्ध रहित बनाउन काम थालिसकेको छ । कुल ६ करोड ८० लाख लिटर फोहोरपानी प्रशोधन गर्न सक्ने क्षमताको केन्द्र निर्माण गर्ने योजना निर्देशनालयले लिएको छ ।