दुई महिनामा सवा दुई खर्ब व्यापार घाटा


नेपाल समाचारपत्र, काठमाडौं
निर्यातको तुलनामा आयात हुने वस्तुको परिणाम उच्च हूँदा नेपालको वैदेशीक व्यापारको अवस्थामा सन्तुलन कायम हुन सकेको छैन । चालु आर्थिकवर्षको पहिलो दुई महिना अवधिमा व्यापार घाटा सवा दुई खर्ब रुपियाँ नाँघेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो दुई दुई महिना अवधिमा २ खर्ब ४७ अर्ब ४ करोड ५६ लाख रुपियाँ बराबरको कुल वैदेशिक व्यापार गर्दा मुलुले २ खर्ब १७ अर्ब ६४ करोड ७५ लाख रुपियाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । गत आर्थिक वर्ष २०७४÷७५ को सोही अवधिमा १ खर्व ७६ अर्ब ५५ करोड ५३ लाख रुपियाँ बराबरको कुल वैदेशीक व्यापारमो मुलुकले १ खर्ब ४९ अर्ब ३४ करोड २९ लाख रुपियाँ व्यापार घाटा व्यहोरेको थियो ।

गत आर्थिक वर्षको पहिलो दुई महिना अवधिको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा कुल वैदेशीक व्यापार ३९ दशमलव ९३ प्रतिशतले बढेको छ भने व्यापार घाटा ४५ दशमलव ७४ प्रतिशतले बढेको छ ।

दुई महिना अवधिमा कुल २ खर्ब ३२ अर्ब ३४ करोड ६६ लाख रुपियाँ बराबरको आयात हुँदा १७ अर्ब ६९ करोड ९० लाख रुपियाँ बराबरको मात्र निर्यात भएको छ । गत आर्थिक वर्ष सोही अवधिमा १ खर्ब ६२ अर्ब ९४ करोड ९१ लाख रुपियाँ बराबरको आयात र १३ अर्ब ६० करोड ६२ लाख ३८ हजार रुपियाँ बराबरको निर्यात भएको थियो । गत आर्थिक वर्षको भन्दा चालु आर्थिक वर्षमा आयात ४२ दशलमव ५९ प्रतिशतले बढेको छ भने निर्यात ८ दशमलव ३ पतिशतले मात्र बढेको छ ।

विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको भदौ मसान्तसम्ममा कुल वैदेशीक व्यापारमा ९४ दशमलव १ प्रतिशत आयात र ५ दशमलव ९ प्रतिशत मात्र निर्यातको योगदान रहेको छ । उक्त अनुपात गत आर्थिक वर्षमा ९२ दशमलव ३ प्रतिशत आयात र ७ दशमलव ७ प्रतिशत रहेको थियो भने, आर्थिक वर्ष २०७३÷७४ मा क्रमशः ९१ दशमलव ९ र ८ दशमलव १ प्रतिशत रहेको थियो ।

यस आर्थिक वर्षको पहिलो दुई महिना अवधिमा नेपालले भारत सँगमात्र १ खर्ब ३७ अर्ब ८० करोड ६० लाख रुपियाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । जुन तथ्यांक गत आर्थिक वर्षमा ९७ अर्ब ९६ करोड रुपियाँ बराबर रहेको देखिन्छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा भारतसँगको कुल वैदेशीक व्यापारमा पनि वृद्धि भएको छ । गत आवको पहिलो दुई महिना अवधिमा नेपाल र भारतबीच १ खर्ब १२ अर्ब ६२ करोड ४ लाख रुपियाँ बराबरको वैदेशीक व्यापार भएकोमा चालु आर्थिक वर्षमा बढेर १ खर्ब ५४ अर्ब ५४ करोड रुपियाँ पुगेको छ ।

त्यस्तै नेपालको दोस्रो ठूलो वैदेशीक व्यापार गर्ने देश चीनसंग २९ अर्ब १३ करोड रुपियाँको आयात र ३ अर्ब ५१ करोड रुपियाँ बराबरको निर्यात गर्दा २८ अर्ब ७८ करोड ९ लाख रुपियाँ बराबरको व्यापार घाटा व्यहारेको छ । गत आर्थिक वर्ष भदौ मसान्तसम्ममा चीनसंगको व्यापार घाटा २५ अर्ब ५३ करोड रुपियाँ रहेको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

यस अवधिमा नेपालले गरेको कुल वैदेशीक व्यापारमा विरगन्ज सबैभन्दा ठुलो आयातकर्ता र त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल सबैभन्दा ठुलो निर्यातकर्ता भन्सार नाकाका रुपमा देखिएको छ । कुल आयातमा विरगन्ज नाकाबाटमात्र ३५ दशमलव ५१ प्रतिशत सामान नेपाल भित्रिएको छ । त्यसैगरी, कुल निर्यातमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मात्र २९ दशमलव ३९ प्रतिशत निर्यात भएको देखिन्छ ।

ठूला आयातकर्ता भन्सार नाकाका रुपमा क्रमशः भैरहवा, त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल र विराटनगर देखिएका छन् भने ठूला निर्यातकर्ता भन्सार नाकाका रुपमा क्रमशः विराटनगर विरगंज र मेची भन्सार नाका देखिएका छन् । समिक्षा अवधिमा ती वटा भन्सारहरु जलेश्वर, जनकपुर र भद्रपुरबाट भने निर्यात शुन्य देखिएको छ ।

साउन र भदौ महिनामा मात्र नेपालले ३५ अर्ब ७१ करोड रुपियाँ बराबरको पेट्रोलियम पदार्थको आयात गरेको छ । त्यसैगरी, २५ अर्ब ६७ करोड रुपियाँ बराबरको स्टील तथा फलामका सामान, १७ अर्ब ३४ करोड रुपियाँ बराबरको विभिन्न मेसिनरी सामान, १७ अर्ब ११ करोड रुपियाँ बराबरको सवारी साधन र १३ अर्ब ५० करोड रुपियाँ बराबरको हवाई यातायातका सामाग्री नेपाल भित्रिएका छन् । दुई महिना अवधिमा नेपालबाट निर्यात भएका प्रमुख वस्तुहरुमा ऊनी गलैंचा, तयारी पोशाक, मुसुरोको दाल, पोलिष्टर धागो, टेक्सटाइल, फलाम तथा स्टील र तिनका उत्पादनहरु मुख्य रहेकाछन् । त्यस्तै हस्तकलाका सामानहरु, चाउचाऊ, टुथपेष्ट, अलैंची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पश्मिना सल, जडिवुटी आदि वस्तुहरुको पनि निर्यात भएकोछ ।

आयातीत वस्तुहरुमा फलाम तथा स्टील र तिनका उत्पादनहरुको आयातमा झण्डै दोब्बरले वृद्धि भएको देखिन्छ । नेपालको आयातको प्रमुख श्रोत मध्ये अग्रस्थानमा रहेको भारतबाट पेट्रोलियम पदार्थ, फलाम तथा तिनका उत्पादनहरु, यातायातका साधनहरु, मेशिनरी तथा पाटपुर्जा र अन्न प्रशस्त मात्रामा आयात भएको देखिन्छ । यसै गरी नेपालको आयात व्यापारमा दोश्रो स्थानमा रहेको उत्तर तर्फको छिमेकी मुलुक चीनतर्फबाट हुने आयातमा दुरसञ्चारका सामाग्रीहरु, विद्युतीय उपकरणहरु, मेशिनरी तथा पार्टपुर्जा, स्याऊ तथा रासायनिक मलले प्रमुख स्थान हासिल गरेका छन् ।

अर्को प्रमख आयातको श्रोत मुलुक युएईबाट भने सुन, चाँदी, प्लाष्टिकको कच्चापदार्थ, लुव्रिकेटिङ तेल र चकलेट आयात भएको पाइन्छ ।