‘माधव नेपालसँग घनिष्ट सम्बन्ध छ’


काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो संयुक्त राज्य अमेरिका र कोष्टारिकाको भ्रमण नेपालको हित प्रवद्र्धनमा सफल रहेको बताउनुभएको छ ।

उहाँले अतिकम विकसित र भूपरिवेष्टित राष्ट्रका समस्याप्रति विश्वको ध्यानाकर्षण गराएको बताउदै देशलाई थप सहयोग आवश्यक रहेको विषय जोडदार रुपमा उठाएको बताउनुभएको हो ।

संयुक्त राष्ट्र सघंको ७३ औँ महासभामा भाग लिई विहिवार स्वदेश फर्केपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले संविधान जारी भएसँगै राजनीतिक सकंटकाल अन्त्य भएको, द्वन्द्व व्यवस्थापन र शान्ति प्रक्रियालाई टुंगोमा पु¥याएको स्मरण गरेको बताउनुभयो ।

नेपालले अवलम्बन गरेको स्वतन्त्र परराष्ट्र नीति तथा नेपालको विश्व सम्बन्धमा बढेको पहुँचको विषयसहित १२ वर्षमा सम्पन्न भएको युगान्तकारी राजनीतिक परिवर्तन र नेपालले हाल अवलम्बन गरेको आर्थिक समृृद्धिको दिशा र सुशासनको नीतिका बारेमा आफूले धारणा राखेको उहाँले बताउनुभयो ।

फरक प्रसंगमा प्रधानमन्त्री ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिलाई ठूलो बनाउन जरुरी नभएको बताउदै नेता नेपालसँग २९ सालदेखि मित्रता घनिष्ठता रहेकोले ढुक्क रहने आग्रह गर्नुभयो ।

जवाफमा ओलीले नेता नेपालले संसदमा केके भन्नुभयो आफूलाई पूर्ण जानकारी नभएको बताउदै उहाँले भन्नुभयो,‘‘कवि मनले लयात्मक ढंगले केही भनिहाल्यो भने त्यसैलाई समातेर कुद्नु पर्ने छैन । पुराना गीत सम्झना हुनसक्छ ।’

हिजो चुनावी तालमेल गर्ने सहमति गर्दा हुँदैन भनेको, पार्टी एकता गर्दा टिक्दैन भनेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले तल्ला तहको पार्टी एकता दुई चार दिनभित्र नै व्यवहारबाट जवाफ दिने गरी काम गरिने बताउनुभयो ।

सरकारले नराम्रो काम एउटा पनि गरेको दावी गर्दै उहाँले राम्रो गर्ने कोसिस गरेको र आफ्नो नेतृत्वको सरकार ५ वर्ष चल्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘अर्को चुनावपछि झन् बलियो भएर आउछ ।’

यसअघि नेपालको विकास भएको तर, ७ महिना मात्र केही नभएको जसरी चर्चा गरिएको भन्दै प्रधानमन्त्री ओलीले सबैभन्दा लामो समय सरकारमा बस्नेहरुलाई गाली गर्दा सन्तोष लागेको हुन सक्ने बताउनुभयो । भारतसँगको सम्बन्ध बेग्लै उचाइमा अगाडि बढाइएको छ । चीनसँग त्यसैगरी अगाडि बढाएको छ, उहाँले भन्नुभयो ।

महासभाको सम्बोधनका क्रममा उहाँले समकालीन विश्वका समस्या सम्बोधन गर्न अन्तरराष्ट्रिय सहयोग, प्रविधि हस्तान्तरण र लगानीका माध्यमबाट गरिबी तथा असमानता हटाउँदै जानुपर्ने विषयमा विशेष जोड दिइएको अवगत गराउनुभयो ।

जलवायु परिवर्तनले पर्वतीय पर्यावरणमा पारेको प्रभाव न्यूनीकरण गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न साधनस्रोतको आवश्यकता औँल्याउँदै मानवअधिकार, आतङ्कवादलगायत विश्व राजनीतिका विविध विषयमा नेपालको स्पष्ट धारणा राखेको छु, प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेससँग छुट्टै भेटघाट गरी नेपाल र राष्ट्र सङ्घसँग सम्बन्धित शान्ति, विकास, सहकार्य र सहयोगसम्बन्धी विषयमा कुराकानी गर्नुभएको थियो । उहाँले अमेरिकी राष्ट्रपति डोनाल ट्रम्पसँग पनि भेट गर्नुभएको थियो ।

महासभाकै अवसरमा उहाँले क्यानडा, स्वीट्जरल्याण्ड, बेलायत, कम्बोडियालगायत मुलुकका सरकार प्रमुख र राष्ट्र प्रमुखसँग उच्चस्तरीय द्विपक्षीय भेटघाटसमेत गर्नुभएको थियो ।

महासभामा सहभागिताका अतिरिक्त मध्यअमेरिकी मुलुक कोस्टारिकाका राष्ट्रपति कार्लोस अलभादो क्येसादाको निमन्त्रणामा सो मुलुकको औपचारिक भ्रमण गरी द्विपक्षीय सम्बन्धमा थप विस्तार र सुदृढ गर्ने विषयका अतिरिक्त जलवायु परिवर्तन, महिला सशक्तीकरण, कानूनी शासन, कृषि, आणविक अप्रसारण, शान्ति तथा दुई मुलुकबीच द्विपक्षीय एवं बहुपक्षीय मञ्चमा सहकार्यबारे छलफल भएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो ।

महासभामा विश्वभरबाट १२१ राष्ट्र÷सरकार प्रमुखले भाग लिई समकालीन अन्तर्राष्ट्रिय व्यवस्था, अन्तष्ट्रिय शान्ति सुरक्षा र यसका चुनौती, दिगो विकास, जलवायु परिवर्तन, राष्ट्र सङ्घको सुधार, द्वन्द्व तथा आतङ्कवादजस्ता जल्दाबल्दा विषयमा आआफ्ना देशका धारणा राखेका थिए ।