रामपुरमा अन्र्तराष्ट्रिय पोल्ट्रि सिम्पोजियम


नेपाल समाचारपत्र, चितवन,
कार्तिक ११ गतेदेखि १३ गतेसम्म चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयमा हुने अन्र्तराष्ट्रिय पोल्ट्री विज्ञ सम्मेलनको तयारी तीव्र बनाइएको छ ।

विश्वविद्यालयले विहिवार भरतपुरमा पत्रकार सम्मेलन गरि प्रस्तुत गरिने सवै कार्यपत्रहरु आइसकेको र तयारी अन्तिमचरणमा पुगेको जानकारी दिएको छ । सम्मेलनमा १० देशका तीनसयभन्दा बढि बैज्ञानिकहरु सहभागी हुने जनाएको छ ।

सम्मेलनमा कुखुरा उत्पादन सम्वन्धि नीतिगत र सामाजिक आर्थिक अवस्था, कुखुराको पोषण, स्वास्थ्य व्यवस्थापन, अनुवांशिकी, प्रजनन् व्यवस्थापन, जैविक प्रविधि, एकीकृत तथा ग्रामिण कुखुरापालन जस्ता विधाहरुमा ११२ बैज्ञानिक र अनुसन्धानमुलक कार्यपत्रहरु पेश हुनेछन् । ति मध्ये १७ वटा विषेश आमन्त्रित, ३३ वटा मौखिक र ६२ वटा पोष्टर प्रस्तुत हुने सम्मेलन आयोजक समितिको अध्यक्ष प्रा. डा. शारदा थपलियाले जानकारी दिइन् ।

सम्मेलनमा उत्कृष्ट हुने पोष्टरहरुलाई पुरस्कृत गर्ने पनि कार्यक्रम छ ।
पोल्ट्रि सम्मेलनमा नेपाल, भारत, जापान, अष्ट्रेलिया, जर्मनी, बंगलादेश, अमेरीका, भुटान र इजिप्ट लगायतका देशका बैज्ञानिक सहभागी बन्ने छन् । सम्मेलनमा नेपालका पोल्ट्री उद्योगहरु, व्यवसायीक किसानहरुसहित यो क्षेत्रसँग सम्वन्धित विभिन्न संघ–संस्थाहरुको सहभागीता रहनेछ ।

‘खाद्य स्वच्छता र सुरक्षाको लागि पोल्ट्रीको माग परिपूर्ति’ भन्ने मूल नाराका साथ सम्पन्न हुने सो सम्मेलनमा सम्मेलनमा भाग लिन भारतीय पोल्ट्री साइन्स एसोसिएसनका उपाध्यक्ष प्रा.डा.देवेन सापकोटा, जापनिज पोल्ट्री साइन्स एसोसिएसनका उपाध्यक्ष डा.नाओकी गोतो, पोल्ट्री अनुसन्धान फाउन्डेसन, अष्ट्रेलियाका निर्देशक पिटर गु्रभ्स, भारतीय कृषि अनुसन्धान परिषद÷केन्द्रिय कुखुरा अनुसन्धान संस्थानका निर्देशक एस. सी. गिरी लगायत विदेशी वैज्ञानिकहरूको सहभागिता रहनेछ ।

सरकारी र नीजि क्षेत्रको लागि महत्वपूर्ण ज्ञान लिनका लागि सम्मेलन फलदायी सावित हुने विश्वविद्यालयका उपकुलपति प्रा.डा. इश्वरीप्रसाद ढकालले विश्वास व्यक्त गरे । नेपालको कुल ग्रार्हस्थ उत्पादनको करिब ४ प्रतिशत र कुल कृषि गार्हस्थ उत्पादनको करिब ८ प्रतिशत हिस्सा पोल्ट्री क्षेत्रले ओगटेको छ । नेपालमा आत्मनिर्भर उन्मुख क्षेत्रका रुपमा पोल्ट्रिलाई लिने गरिएको छ ।

ग्रामिण कुखुरापालनबाट हुने आर्थिक योगदानलाई छोडेर हेर्ने हो भने नेपालको व्यवसायिक कुखुरापालनबाट राज्यले वार्षिक ३३ अर्ब ७२ करोड आर्थिक उपार्जन गरिरहेको विज्ञ डा. निराजन भट्टराईले जानकारी दिए । पोल्ट्रि क्षेत्रमा करिब १ लाख ५० हजार प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाएका छन् । पशु सेवा विभागको सन् २०१७ को तथ्याङ्क अनुसार नेपालमा करिब ७ करोड कुखुरा रहेको पाइन्छ ।

देशको कुल मासु उत्पादनको करिब १७.२ प्रतिशत हिस्सा पोल्ट्री क्षेत्रले ओगटेको छ । देशको माग अनुसार मासु र अण्डा उत्पादन–लागतलाई कम्तिमा २ ठूला छिमेकीहरु चीन र भारतको दाँजोमा कम र प्रतिष्पर्धी बनाउनु पर्ने चुनौती रहेको कृषि तथा वनविज्ञान विश्वविद्यालय , पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायकी डिन समेत रहेकी प्रा.डा. शारदा थपलियाले जानकारी दिइन् ।

विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपतिले नेपालका स्थानीय जातका कुखुराको संरक्षण गर्दै स्थानीय उत्पादन वृद्धिमा भैरहका अनुसन्धानका बारेमा जानकारी गराएका थिए । पोल्ट्री विज्ञ डा. तिलचन्द्र भट्टराईले नेपालको पोल्ट्री क्षेत्रमा बढ्दै गैरहेको बिदेशी लगानीले यहाँका व्यवसायीहरु धरासयी बन्ने अवस्था आउन नहुने बताए ।