उमेर नपुग्दै आमा


महेश न्यौपाने, रोल्पा
बाल विवाह न्यूनिकरणका लागि सरकारी तथा गैर सरकारी स्तरवाट ठूलो मात्रामा वजेट र मानवश्रोत परिचालन गरिएको भए पनि यसको परिणाम भने सन्तोषजनक देखिएको छैन । जिल्लामा बालविवाह कम नहुदा यसको प्रभाव जिल्लाका समग्र विकास गतिविधिमा समेत देखिन थालेको छ ।

नेपालको प्रचलित कानून अनुसार २० वर्ष नपुग्दै गरिने विवाह वालविवाह हो । कानूनको यो प्रावधान विपरित हुने सवै विवाह वालविवाह भए पनि जिल्लामा हुने विवाह मध्ये ७० प्रतिशत वढी वालविवाह हुने गरेको वताईन्छ ।

बालविवाहलाई चेतना संग जोडेर हेरिए पनि यसका वहुआयामिक कारण हुन सक्ने जानकारहरुको भनाई छ । केवल चेतनालाई मात्र दोष दिदा वास्तविकता फरक हुन सक्ने उनीहरुको भनाई छ । चेतनाको कमी बालविवाहको अनेक कारण मध्ये एक हुन सक्छ तर समग्र कारण नै जनचेतना हैन बालविवाह न्यूनिकरणकी अभियान्ता तीर्था आचार्यले भनिन । परम्परागत सोचाई र मूल्य मान्यता, गरिवी, घर भित्रको संस्कार, साथि भाई र संगिका कारण पनि वालविवाह हुनुका कारण हुन सक्छन आचार्यले भनिन ।

जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको अभिलेखमा गर्भवती जाँच गराउने मध्ये ठूलो संख्याका गर्भवतीहरु २० वर्ष मुनिका देखिएका छन । अघिल्लो आर्थिक वर्षको ७ महिनाको तथ्यांकमा यसरी गर्भवती चेकजाँच गर्ने २० वर्ष मुनीका किशोरीको संख्या ४७८ जना देखिएको छ । वर्ष भरिको तथ्यांक यसको दोव्वर हुन सक्ने वताईन्छ । कम उमेरमै गर्भवती हुदा लजाएर स्वास्थ्य संस्थामा गर्भवती जाँच नगराउनेहरुको संख्या पनि समाजमा रहेको वताईन्छ ।

जिल्लाभरका स्वास्थ्य संस्थामा किशोरावस्थामा गर्भवती हुनेहरुको संख्या अधिक रहेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका सिनियर अनमी नैना घर्तीले जानकारी दिईन । स्वच्छिक गर्भपतन गराउने मध्ये अघिल्लो वर्षको ७ महिनामा २६ किशोरी रहेको वताइएको छ । विवाह पछि ढिलो वच्चा जन्माउने चाहाना भएका किशोरीहरुको संख्या अघिल्लो वर्ष ५५३ रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । महिलाले प्रयोग गर्ने सवै प्रकारका अस्थायी साधन प्रयोग गर्ने २० वर्ष मुनीको संख्या पनि वढ्दै गएको वताईन्छ ।

जिल्ला स्वास्थ्य कार्यालयको यो तथ्यांकले जिल्लामा बालविवाहको रुप भयावह देखिए पनि प्रहरी वा अन्य न्यायिक र अर्धन्यायिक निकाय सम्म आईपुग्ने उजुरीको संख्या भने नाम मात्रैको छ । जिल्ला प्रहरी कार्यालय रोल्पामा आर्थिक वर्ष ०७३÷०७४ मा बालविवाहका २ वटा उजुरी परेको थियो । आर्थिक वर्ष ०७४÷०७५ मा यो संख्या घटेर एउटा मात्रै मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय रोल्पाको मुद्धा फाँटले जानकारी दिएको छ ।

बालविवाह गर्नु गैरकानूनी काम हो भन्ने जनतामा चेतना नहुदा उजुरी कम परेको हुन सक्छ महिला मानव अधिकार रक्षक संजाल रोल्पाका सदस्य तुलसा आचार्यले भनिन । बालविवाहका उजुरी परे पनि गाउँमै मिलापत्रमा टुंग्याईने चलनले पनि प्रहरी समक्ष यस्ता उजुरी निकै कम आई पुग्ने आचार्यको भनाई छ ।

जिल्लामा बालविवाह न्यूनिकरणका लागि विभिन्न प्रयास समेत भईरहेका छन । जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी यूनिटहरुले नियमित रुपमा जनसहभागितामा वालविवाह न्यूनिकरण संवन्धि चेतनामुलक सडक नाटक तथा अन्य कार्यक्रम गरिरहेको छ ।