वर्षेनी २ हजार भन्दा बढीले पढ्छन् चिकित्सा शिक्षा


भगवती तिमल्सिना, काठमाडौँ
नेपालमा वर्षेनी २ हजार ३ सय ६० जना बिद्यार्थीले चिकित्सा शिक्षा अध्ययनका लागि प्रवेश पाउने गरेको पाइएको छ । त्रिभुवन विश्व विद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान, काठमाडौ विश्वविद्यालय र विपि केएचएस धरानमा गरी उल्लिखित विद्यार्थीले उक्त शिक्षा अध्ययन गर्ने गरेका हुन् ।

त्रिविमा प्रवेश परिक्षा दिई पास भएका ४ हजार ५ सयमध्ये ५ सय ८५ जनाले एमबीबीएस र १ सय ७० जनाले बीडीएसमा भर्ना पाउँछन् । यसमा स्वदेशी, समानुपातिक, छात्रवृत्ति, विदेशी गरी सबै विद्यार्थीले अवसर पाउँछन् । यसवर्ष त्रिविमा मात्र प्रवेश परीक्षाका लागि ९ हजार ७५ जनाले फम भरेकोमा १ सय ८९ जना परिक्षामै सामेल नभएको चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन प्रा.डा.जगदीशप्रसाद अग्रवालले जानकारी गराउनुभयो ।

यसअन्र्तगत ७ वटा मेडिकल कलेजले चिकित्सा शिक्षाको स्वीकृति पाएका छन्, जसमा पिपुल्स डेन्टल कलेज बाहेक ४ वटा बीडीएस रहेका छन् ।

काठमाडौ विश्वविद्यालयमा यसैवर्ष प्रवेश परिक्षा दिनेमा ८ हजारको संख्या रहेको थियो । यसमा ४ हजार ५ सयले नाम निकालेकोमा उच्चतम अंकका आधारमा भर्ना हुन पाउनेमा एमबीबीएसमा ८ सय ९० जना, बीडिएसमा २ सय ७५ जना र फार्मेसीमा ४० जना रहेका छन् । मेडिकल शिक्षाका लागि एक÷एकवटा नर्सिङ र डेन्टल, ८ वटा मेडिकल कलेज र फार्मेसी रहेका छन् ।

जसमा सरकारले १ सय ८ जनालाई छात्रवृत्ति दिन्छ भने ४ सय १९ जनाले पुरा शुल्क तिरेर पढ्नुपर्छ । भारत, श्रींलका, माल्दिप्स, अमेरिकाका २ सय ६३ जनाले पढ्ने गरेको काठमाडौँ विश्वविद्यालयका स्कूल अफ मेडिकल साइन्सका डिन डा.राजेन्द्र कोजुले जानकारी दिनुभयो ।

विद्यार्थी छनोट गर्दा गुणस्तर र क्षमतामा ध्यान दिने गरिएकाले नेपाल मेडिकल काउन्सिलबाट अन्तिम चिकित्सा प्रमाणपत्र लिने बेलासम्म उत्कृष्ट नै नतिजा आउने गरेको विज्ञहरुको ठम्याई छ । चिकित्सा शिक्षामा नेपालको शिक्षा व्यावहारिक र महत्वपूर्ण भएकाले विदेशमा पढेका भन्दा नेपालमै पढेकाहरू प्रमाणपत्र लिने परिक्षामा ठूलो संख्यामा उतीर्ण हुने गरेको काउन्सिलका अधिकारीहरू दावी गर्छन् ।