स्थानीय सरकारको पहिलो प्राथमिकता खानेपानी, धुलिखेलमा शुरु भयो सम्मेलन


मोतीराम तिमल्सिना, काभ्रे
संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले खानेपानीका संरचना, श्रोतको ब्यवस्थापन गर्न काम गर्ने शैली परिवर्तन गर्नु पर्ने बताएका छन् ।

धुलिखेलमा आयोजित दुई दिने खानेपानी सम्वन्धी सम्मेलनको उद्घाटन गर्दै मन्त्री बास्कोटाले एकिकृत विकासमा जोड दिनु पर्ने बताए । खानेपानीका श्रोत माथीको भौतिक आक्रमण र अनाधिकृत अतिक्रमण रोक्न र भावनात्मक चोटलाई ब्यवस्थापन गर्नु पर्नेमा मन्त्री बास्कोटाले जोड दिए । साना तिना उल्झनलाई देखाएर दाता र ठेकेदारले परियोजनामा ढिलाई गर्न नहुने बताउँदै मन्त्री बास्कोटाले खानी र पानी एकै स्थानमा रहन नसक्ने बताए ।

‘जिल्लमा संचालन भईरहेको तीन नगरपालिकाहरुको एकिकृत खानेपानीको काम तत्काल सम्पन्न गर्न ठेकेदारलाई अनुरोध गर्दछु’–मन्त्री बास्कोटाले भने–‘ठेकेदारकै लार्पवाहिका कारण भएको ढिलाईको क्षतिपुर्ति महङ्गो पर्न गएको छ, त्यसको असुल उपर हुनु पर्छ ।’ प्रकृति पर्यावरण र विकासको दिगोपनका लागि पानी आवश्यक भएको बताउँदै पानीकै लागि युद्ध हुने अवस्था आउन नदिन सचेत रहनु पर्ने बताए ।
धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काठमाडौ विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकजु, रजिस्टार डा. सुवोध शर्मा, खानेपानी मन्त्रालयका सह सचिव अनिल भद्र खनाल लगायतले पानी जोगाउन र पानीको उपयोग सबै नागरिकले गर्ने गरी ब्यवस्थापन गर्न स्थानीय सरकारहरुको प्रयास सार्थक हुनु पर्ने बताए । धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले स्थानीय स्तरमा पानी ब्यवस्थापनमा भएको प्रयासका बारेमा भएको अभ्यासका बारेमा भनाई राखेका थिए ।

धुलिखेलमा साविकको खानेपानी उपभोक्ता समितिबाट ५ वटा वडामा खानेपानीको वितरण भईरहेको छ । काभ्रे भ्याली एकिकृत खानेपानी आयोजनाले ५ वडाहरुका थप केहि क्षेत्रहरुमा खानेपानीको सुनिश्चितता गर्नेछ । धुलिखेलको ६५ प्रतिशत क्षेत्रमा तथा जनसंख्याको हिसवाले ६० प्रतिशत जनतालाई काभ्रे एकिकृत खानेपानी आयोजना मार्फत ब्यवस्थापन हुनेछ । साविकका ५ गाविसहरु रहेको क्षेत्र, ग्रामिण प्रकृतिको भएकाले कुवा, इनार तथा धाराहरुबाठ खानेपानीको ब्यवस्थापन भईरहेको छ ।

काभ्रे भ्याली खानेपानी आयोजनाले समेट्न नसकेको धुलिखेलका बाँकी क्षेत्रमा खानेपानीका साना ठुला २७ वटा योजनाहरुको कार्यान्वयन पश्चात सबै घरमा सुरक्षित खानेपानी पु¥याउन सकिने अध्ययनले देखाएको नगर प्रमुख ब्याञ्जुले बताए । १५ लाख देखि १ करोड २० लाखसम्मका योजनाहरुके कुल लागत चालु आवको मुल्यको आधारमा २२ करोडको हाराहारी लाग्नेछ । प्रति दिन प्रति ब्यक्ति ६० लिटर खानेपानीको दरमा विश्लेषण गरिएको नगर प्रमुख ब्याञ्जुले बताए । खानेपानीको गुणस्तर सुधारका लागि आवश्यक संरचनाहरुको निर्माण, स्मार्ट पानी वितरण प्रणाली, सानातिना संरचनाहरुलाई आपसमा एकीकृत र संचालिकृत गर्ने, पानीको नियमित आपुर्तिका लागि भण्डारण क्षमता विस्तार गर्नु पर्नेछ ।

पहिलो २ वर्षमा सम्पन्न गर्ने गरी ७ वटा आयोजनाको काम थालनी भईसकेको छ । बाँकी २० आयोजना र अनुमानित लागत १८ करोड श्रोतको एकल तथा सामुहिक प्रतिवद्धताका लागि नगरपालिकाले पानी सम्मेलनको आयोजना गरेको हो । खानेपानीलाई स्थानीय विकासको पहिलो प्राथमिकता निर्धारण गरेको धुलिखेल नगरपालिकाले स्थानीय तहमा पानी ब्यवस्थापनका चुनौतीको पहिचान गर्ने, विद्यमान कानुनको सुधार गर्ने, नयाँ नीति आवश्यकताका आधारमा खोजी गर्ने लगायतका विषयमा कार्यशालामा छलफल भईरहेको छ । उक्त कार्यशालामा ७ वटै प्रदेशका नमुना खानेपानी आयोजनाका उपभोक्ता समितिका पदाधिकारीहरु, खानेपानीमा काम गर्ने विभिन्न सरकारी, गैरसकारी क्षेत्रका ब्यक्तिहरु र विशेषज्ञहरुको सहभागिता रहेको छ ।